मोरङलाई हराउँदै एनआरटीले जित्यो बुढासुब्बा गोल्ड कपको उपाधि


 


धरान, ३ चैत । मोरङ फूटबल क्लबलाई हराउँदै २४ औं बुढासुब्बा गोल्ड कपको उपाधि एनआरटी क्लबले जितेको छ।

धरान रंगशालामा शनिबार भएको फाइनल खेलमा एनआरटीले मोरङ फूटबल क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । एनआरटी दोस्रो पटक च्याम्पियन बनेको छ। उपाधिसँगै एनआरटीले नगद १० रुपैयाँ पुरस्कार पाएको छ।

एनआरटीका लागि खेलको सातौं मिनेटमा रोशन रानाको पासमा एफिज ओलावालेले गोल गरेका थिए। पहिलो हाफको ४४ औं मिनेटमा मोरङका लागि उमेश कार्कीले गोल गर्दै बराबरी गरेका थिए।

दोस्रो हाफमा दुवै टोली आक्रमक बनेका थिए। खेलको ५०औं मिनेटमा सरोज तामाङ एक गोल थप्दै एनआरटीको अग्रता बढाएका थिए। मोरङले पटकपटक प्रयास गरे पनि गोल गर्न सकेन।

प्रतियोगितामा एनआरटीका सनम लिम्बू सर्वोत्कृष्ट खेलाडी बने। उनले एक लाख रुपैयाँ पुरसकार पाए। त्यस्तै, एनआरटीका ओफिज ओलावाले र सरोज तामाङ तथा मोरङका उमेश कार्की सर्वाधिक गोलकर्ता बनेका छन्। तीनै जनाले जनही ३५ हजार रुपैयाँ पुरस्कार पाएका छन्।

मोरङका महेन्द्र कार्की बेस्ट डिफेन्डर, एनआरटीका शिसिर लेखी बेस्ट स्टाइकर, एनआरटीका जय गुरुङ बेस्ट मिडफिल्डर, एनआरटीका पुजन होना बेस्ट गोलकिपर र एनआरटीका जीवन सिन्खेमना उत्कृष्ट प्रशिक्षक बनेका छन्। उनीहरूलाई जनही २५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिएको छ।

धरान फूटबल क्लबको आयोजनामा फागुन २६ गतेदेखि शुरू भएको प्रतियोगितामा आठ टोलीले प्रतिस्पर्धा गरेका थिए।

प्रकाशित मिति: ३ चैत्र २०८०, शनिबार

प्रतिक्रिया दिनुहोस्