८ महिनामा ४ लाख ७१ हजार श्रम स्वीकृति, युएई पहिलो श्रम गन्तव्य


 


काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो आठ महिनामा रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या करिब पाँच लाख पुगेको छ ।

वैदेशिक रोजगार विभागका अनुसार गत साउनदेखि फागुनसम्म रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या चार लाख ७१ हजार २४० पुगेको हो ।

यो सङ्ख्या गत आवको सो अवधिभन्दा १३ प्रतिशतले कम हो । सो अवधिमा पाँच लाख ४० हजार छ सय नेपाली श्रम स्वीकृति लिएर रोजगारका लागि बिदेसिएका थिए । चालु आवमा सबैभन्दा धेरै मङ्सिरमा ७१ हजार २७६ जना र सबैभन्दा कम कात्तिकमा ४३ हजार ६२२ जना बिदेसिएका छन् ।

यो वर्ष नेपाली श्रमिकको पहिलो श्रम गन्तव्य देश संयुक्त अरब इमिरेट्स ९युएई० भएको छ । युएईका लागि एक लाख २० हजार १६८ जनाले श्रम स्वीकृति लिएको विभागले जनाएको छ ।

अघिल्लो वर्ष लगातार तेस्रो श्रम गन्तव्य रहेको युएई यो वर्ष भने सुरुदेखि नै पहिलोमा पर्दै आएको छ । दोस्रो श्रम गन्तव्य देश कतार रहेको छ ।

अघिल्लो वर्ष चौथो श्रम गन्तव्य रहेको कतार यस पटक दोस्रो स्थानमा छ । यस अवधिमा कतारका लागि ९२ हजार ११४ जनाले श्रम स्वीकृति लिएर बिदेसिएका छन् । गोरखापत्रबाट

प्रकाशित मिति: ५ चैत्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्