आँखासँगै कानको उपचार सेवा विस्तार गर्दै नेपाल नेत्रज्योति सङ्घ


 



काठमाडौँ, १२ चैत । नेपाल नेत्रज्योति सङ्घले देशैभर रहेका आफ्ना आँखा अस्पताल र उपचार केन्द्रमार्फत वार्षिक ३० लाखभन्दा बढी मानिसलाई आँखा जाँच सेवा प्रदान गरिरहेको छ ।

सन् २०२३ मा सङ्घले आफ्नो मातहतका आँखा अस्पताल, उपचार केन्द्रहरुका साथै विभिन्न बाह्य कार्यक्रमका माध्यमबाट कूल ३३ लाख छ हजार २६ जनाको आँखा जाँच तथा उपचार गर्नुका साथै दुई लाख ६५ हजार आठ सय ८५ जनाको आँखाको शल्यक्रिया गरेको थियो । सङ्घको सञ्जालमार्फत आठ लाख पाँच हजार तीन सय १६ विदेशी नागरिकले सेवा प्राप्त गरेका थिए ।

सङ्घका अध्यक्ष प्रा डा चेतराज पन्तले स्थापनादेखि हालसम्म सङ्घले आफ्ना सञ्जालमार्फत नेपाली नागरिक तथा अन्य विभिन्न देशका नागरिक गरी कूल चार करोड ३६ लाख २६ आँखाका बिरामीलाई आँखा उपचार सेवा प्रवाह गरिसकेको र ५१ लाख ३३ हजार छ सय ५९ जनाको आँखाको शल्यक्रिया भइसकेको जानकारी दिनुभयो ।

उहाँले सङ्घले आँखाको उपचारसँगै कानको उपचार सेवालाई विसं २०६९ देखि विस्तार गरेको जानकारी दिनुभयो । उहाँका अनुसार सङ्घद्वारा सञ्चालित अस्पतालबाट कानसम्बन्धी उपचार सेवा विस्तार गरेको हो । सङ्घले विसं २०७७ देखि सिबिएमको आर्थिक सहयोगमा कर्णाली प्रदेशमा एकीकृत कान तथा आँखा परियोजना प्रारम्भ समेत गरेको छ ।

दृष्टिविहीनलाई निःशुल्क ज्योति

सङ्घका महासचिव भरतबहादुर चन्दले सङ्घले वर्षेनी हजारौँ दृष्टिविहीनलाई निः शुुल्क ज्योति प्रदान गर्दै आइरहेको बताउनुभयो । उहाँका अनुसार सरदरमा सङ्घले वार्षिक २० हजारभन्दा बढी बिरामीको आँखाको शल्यक्रिया निःशुल्क गर्दै आइरहेको छ । सङ्घले सङ्घीय सरकार, प्रदेश सरकार, विभिन्न स्थानीय निकाय तथा विकास साझेदारसँगको सहकार्य तथा सङ्घद्वारा सञ्चालित अस्पतालले आफ्नै स्रोतमा निःशुल्क शल्यक्रिया सेवा प्रदान गर्दै आइरहेको हो ।

उहाँले भन्नुभयो, “सङ्घले आर्थिक अभावका कारण कोही पनि नागरिकले दृष्टिविहीन जीवनयापन गर्न बाध्य नहुन भन्ने हेतुले जनताको घर दैलोमै सहज, सुलभ र सस्तो रुपमा गुणस्तरिय सेवा प्रदान गरिरहेको छ र सोका लागि विभिन्न निकायसँगको साझेदारीमा उज्यालो अभियान कार्यक्रम सञ्चालन गर्दै आएको छ । यसबाट धेरै गरिबीको रेखामुनी नेपाली नागरिकले निःशुल्क आँखा जाँच तथा शल्यक्रिया सेवा पाइरहेका छन् ।”

प्रकाशित मिति: १२ चैत्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्