घट्यो चिनियाँ अर्बपतिको संख्या, भारतका ३१ थपिए


 


काठमाडाैं । चिनियाँ अर्बपतिको संख्या लगातार तेस्रो वर्ष पनि घटेको छ । अमेरिकाको प्रसिद्ध पत्रिका फोर्ब्सले सार्वजनिक गरेको सूची अनुसार सन् २०२४ मा ४०६ जना चिनियाँको नाम अर्बपतिको सूचीमा छ । जबकि अघिल्लो वर्ष सन् २०२३ मा चिनियाँ खर्बपतिको संख्या ४९५ थियो । यस्तै सन् २०२१ मा चिनियाँ खर्बपतिको संख्या ६२६ थियो ।

गत वर्ष फोर्ब्स अर्बपतिको सूचीमा रहेका १२५ जनाको नाम यो वर्ष सूचीबाट हट्दा ३१ जना नयाँ बिलियनरको नाम समावेश भएको छ। ११ जनाले पुनः अर्बपतिको सूचीमा नाम लेखाउन सफल भएका छन्।

बिलिनियरको संख्या घटे पनि चीन अर्बपति धेरै हुने देशमा दोस्रो नम्बरमा छ। अमेरिकामा ८१३ जना अर्बपति रहेको फोर्ब्सले जनाएको छ। चिनियाँ अर्बपतिहरूको कूल सम्पत्ति गत वर्ष १.६७ त्रिलियन डलर रहेकोमा सन् २०२४ मा १.३३ त्रिलियनमा झरेको छ। सन् २०२१ मा चिनियाँ अर्बपतिहरूको कूल सम्पत्ति २.५ त्रिलियन डलर थियो ।

संयुक्त राज्य अमेरिका सबैभन्दा अर्बपति नागरिक भएको देश बनेको छ । अमेरिकामा ८१३ जना अर्बपति छन् । विश्वको दोस्रो धेरै जनसंख्या भएको देश भारत तेस्रो स्थानमा परेको छ । भारतका २०० जना फोर्ब्सले सार्वजनिक गरेको अर्बपतिको सूचीमा छन् । सन् २०२३ मा भारतका अर्बपतिको संख्या १६९ थियो ।

फोर्ब्स विश्वका अर्बपतिहरूको नयाँ सूची आजै सार्वजनिक गरेको हो । जसमा विश्वमा अर्बपतिको संख्या २ हजार ७८१ छ । जुन गत वर्षको भन्दा १४१ जना बढी हो । साथै यसअघिको सर्वाधिक संख्या सन् २०२१ को भन्दा २६ ले बढी हो ।

नयाँ रिपोर्ट अनुसार अर्बपतिहरुमध्ये दुई तिहाइको सम्पत्ति गत वर्षभन्दा बढेको छ भने एक चौथाइको सम्पत्ति मात्रै घटेको छ । विश्वका डलर अर्बपतिहरूको कूल सम्पत्ति १४.२ ट्रिलियन डलर पुगेको छ । यो गत वर्षको भन्दा २ ट्रिलियन धेरै हो भने सन् २०२१ के भन्दा १.१ ट्रिलियन धेरै हो ।

प्रकाशित मिति: २१ चैत्र २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्