विपन्न परिवारका विद्यार्थीलाई निःशुल्क कम्प्युटर तालिम


 


कञ्चनपुर, चैत २५ । माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएर बसेका विपन्न परिवारका विद्यार्थीलाई कल्की फाउण्डेसनले निःशुल्क आधारभूत कम्प्युटर तालिम दिने व्यवस्था मिलाएको छ ।

शुक्लाफाँटा नगरपालिका क्षेत्रभित्रका गरिब तथा आर्थिक अवस्था कमजोर रहेका परिवारका विद्यार्थीलाई फाउण्डेसनले तालिम दिन लागेको हो ।  नगरपालिकाका १२ वटै वडाका ६० विद्यार्थीलाई निःशुल्क कम्प्युटर तालिम दिने गरी कार्य अगाडि बढाइएको फाउण्डेसनका सचिव महेशप्रसाद भट्टले बताउनुभयो । 

“नगरपालिकाका सबै वडा कार्यालयमार्फत निःशुल्क कम्प्युटर कक्षामा सहभागी हुने विद्यार्थीले आवेदन दिन सक्ने गरी व्यवस्था गरेका छौँ”, उहाँले भन्नुभयो, “आवेदन सङ्कलनको कार्य सकिएपछि तालिमका लागि विद्यार्थीको छनोटको कार्य गर्छौँ ।”

कम्प्युटर शिक्षा वर्तमान समयमा अनिवार्य जस्तै भएकाले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको पहुँच पुर्याउन निःशुल्क तालिमको व्यवस्था मिलाइएको फाउण्डेसनका सदस्य विवेक ओझाले बताउनुभयो । “हरेक क्षेत्रमा कम्प्युटर बिना काम छैन”, उहाँले भन्नुभयो, “विपन्न परिवारका बालबालिकालाई कम्प्युटरबारे साक्षर बनाउनका लागि आधारभूत तालिम दिइन लागेको छ ।”

विद्यार्थीको पायक पर्ने क्षेत्रमै कम्प्युटर तालिम दिने संस्थासँग सम्झौता गरी सिक्ने वातावरण तयार पारिने फाउण्डेशनका उपाध्यक्ष दीपा जोशीले बताउनुभयो । “तालिममा नगरपालिका क्षेत्रका १२ वटै वडाका विपन्न परिवारका विद्यार्थीलाई समेटेका छौँ”, उहाँले भन्नुभयो, “आधारभूत कम्प्युटर तालिम पश्चात आवश्यकता आधारमा डिप्लोमा कोर्षका लागि पनि तालिम सञ्चालन गरी सेवा दिने योजना छ ।” 

तालिम सञ्चालनका लागि लाग्ने रु पाँच लाख बढी रकम फाउण्डेसनका संस्थागत सदस्यले व्यहोर्ने भएका छन् । तालिम सञ्चालनका लागि आवेदन दिने अन्तिम मिति वैशाख १२ गतेसम्मका लागि तोकिएको छ ।

निःशुल्क कम्प्युटर कक्षामा सहभागिताका लागि आवेदनसँगै वडा कार्यालयको सिफारिसपत्र र एसइई परीक्षाको प्रवेश पत्र अनिवार्य रुपमा विद्यार्थीले पेश गर्नुपर्ने छ । फाउण्डेशनले विगत तीन वर्षदेखि धार्मिक तथा सामाजिक क्षेत्रमा मानविय कार्य गर्दै आएको छ ।

प्रकाशित मिति: २५ चैत्र २०८०, आइतबार

प्रतिक्रिया दिनुहोस्