आँखा अस्पतालको ५०औँ वार्षिकोत्सवमा दुई चिकित्सक पुरस्कृत


 


काठमाडौँ, चैत २६ । त्रिपुरेश्वरस्थित नेपाल आँखा अस्पतालले ५० औँ वार्षिकोत्सवका अवसरमा दुई जना चिकित्सकलाई पुरस्कृत गरेको छ । अस्पतालले धेरै शल्यक्रिया गर्ने र बहिरङ्ग सेवामा रही अधिक बिरामीको स्वास्थ्य परीक्षण गर्ने दुई जना विशेषज्ञ चिकित्सकलाई पुरस्कृत गरेको हो ।

अस्पतालको ५०औँ वार्षिकोत्सवका अवसरमा करिब एक हजार नौ सय २९ बिरामीको सफल शल्यक्रिया गर्ने डा किरण शाक्य र बहिरङ्ग सेवामार्फत करिब १६ हजार बिरामीको स्वास्थ्य परीक्षण गर्ने डा इन्दुप्रसाद ढुङ्गेललाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको अस्पताल प्रशासनले जनाएको छ । 

विसं २०३० चैत २६ गते स्थापित अस्पतालले हालसम्म ३४ लाख ३८ हजार पाँच सय ७२ जनाको आँखा परीक्षण र एक लाख ३७ हजार एक सय ७४ जनाको आँखाको शल्यक्रिया गरेको वार्षिकोत्सव कार्यक्रममा अस्पतालका अध्यक्ष डा गोपालप्रसाद पोखरेलले जानकारी दिनुभयो ।  

गत वर्ष सन् २०२३ मा एक लाख ५४ हजार चार सय ८० बिरामीको स्वास्थ्य परीक्षण गर्नुका साथै करिब ११ हजारको शल्यक्रिया सेवा उपलब्ध गराएको थियो । उक्त अस्पतालले सो अवधिमा एक सय वर्षमाथिका १५ जनालाई आँखा उपचार सेवा पु¥याइएको अध्यक्ष डा पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार सेवा लिनेमध्ये दुई जनाको शल्यक्रिया गरिएको थियो ।

उपचारमा आउने समग्रमध्ये ५२ प्रतिशत महिला छन् भने मोतियाबिन्दुका उपचार गर्न आउनमा महिलाको सङ्ख्या ५५ प्रतिशत छ । साथै अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये २० देखि २९ वर्ष उमेर समूहको सङ्ख्या तुलनात्मकरुपमा धेरै रहेको अध्यक्ष पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार हाल अस्पतालबाट दैनिक चार सयदेखि सात सयसम्म बिरामीले सेवा लिइरहेका छन् ।

अस्पतालले आगामी चार वर्षभित्रमा वार्षिकरुपमा दुई लाख ५० हजार बिरामीलाई उपचार सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । यहाँ सेवा लिन आउनेमध्ये ९० प्रतिशत बिरामीलाई एकघण्टाभित्र उपचार सेवा उपलब्ध गराउँदै आइएको अध्यक्ष पोलरेलले बताउनुभयो । 

उक्त अस्पतालमा उपचार गर्न आउनेमध्ये सबैभन्दा धेरै काठमाडौँका ६२ प्रतिशत छन् भने अरु क्रमशः ललितपुर, धादिङ, नुवाकोट, रामेछाप, मकवानपुर, दोलखासहित छिमेकी मुलुक भारतसम्मका छन् । अरु महिनाको तुलनामा वार्षिकरुपमा साउनमा उपचार गर्न आउने विद्यार्थीको सङ्ख्या अधिक छ । अस्पतालले गत वर्ष मुलुकका विभिन्न स्थानमा १३ वटा निःशुल्क शल्यक्रिया शिविर सञ्चालित गरी बिरामीलाई सेवा पु¥याएको थियो ।

नेपाल आँखा अस्पताले काठमाडौँ महानगरपालिकाभित्रका सामुदायिक विद्यालय र वृद्धाश्रममा पनि उपचार सेवा पु¥याउन महानगरसँग सहयकार्यका लागि प्रयास गरिरहेको छ । वरिष्ठ नेत्ररोग विशेषज्ञ डा रामप्रसाद पोखरेल संस्थापक रहनुभएको अस्पतालले आँखाका बिरामी मात्र नभई विश्व स्वास्थ्य सङ्गठनले अघि सारेको स्वास्थ्यसम्बन्धी दीगो लक्ष्यप्राप्तिमा समेत योगदान दिँदै आएको छ । अस्पताले वार्षिकोत्सवका अवसरमा २५ वर्षसम्म निरन्तर सेवा दिनुहुने पर्शुराम हुमागाईं र दानबहादुर महतोलाई दीर्घसेवा पुरस्कार र प्रमाणपत्र प्रदान गरेको छ । 

कार्यक्रममा अस्पताल सञ्चालक समितिका सचिव युद्धध्वज सापकोटाले नेपालको स्वास्थ्य सेवाभित्र आँखा अस्पतालमार्फत दीगो लक्ष्य प्राप्तिका लागि भइरहेको प्रयासबारे जानकारी गराउनुभयो ।

अस्पतालले मासिकरुपमा समग्र बिरामीको स्वास्थ्य परीक्षण, शल्यक्रिया र बहिरङ्ग सेवाका सम्बन्धमा गहन छलफल र मूल्याङ्कन गरी सेवालाई गुणस्तरीय, सहज र सरल बनाउने अभ्यास गरिरहेको पनि उहाँले बताउनुभयो । नेपालमा आँखा स्वास्थ्यका क्षेत्रमा विशेषज्ञ सेवा प्रदान गर्ने नेपाल आँखा अस्पताल पहिलो हो । 

अस्पतालमा कर्निया, मोतियबिन्दु, जलबिन्दु, रेटिना, अकुलोप्लाष्टि एवं बाल आँखा सेवासमेत उपलब्ध छन् । आधुनिक प्रविधि र उच्च गुणस्तरका औजार र उपकरणबाट अस्पतालले बिरामीलाई सेवा उपलब्ध गराइरहेको छ ।

प्रकाशित मिति: २६ चैत्र २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्