चीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप


 


एजेन्सी । भ्रष्टाचारविरुद्धको एक दशक लामो कारवाहीको पछिल्लो घटनामा चीनको केन्द्रीय बैंकका एक पूर्वडेपुटी गभर्नरमाथि उच्च पदस्थ अधिकारीका रूपमा आफ्नो कार्यकालमा ठूलो घुस लिएको आरोप लगाइएको सरकारी सञ्चारमाध्यमले बिहीबार बताएको छ ।

फ्यान यिफेई पहिलो पटक सन् २०२२ नोभेम्बरमा ‘अनुशासन र कानूनको संदिग्ध उल्लङ्घन’ का लागि अनुसन्धानको दायरामा आएका थिए । एक दशकअघि सत्तामा आएपछि चिनियाँ राष्ट्रपति सी जिनपिङले सरकारी भ्रष्टाचारविरुद्ध व्यापक कारवाही अभियान सुरु गरेका छन् ।

चिनियाँ राज्य प्रसारक सिसिटिभीले फ्यानमाथि अहिले गैरकानूनीरूपमा ‘३८ करोड ६० लाख युआन (पाँच करोड ३० लाख अमेरिकी डलर) भन्दा बढीको सम्पत्ति’ प्राप्त गरेको आरोप लगाइएको बताएको छ । यी गैरकानूनी गतिविधिहरू कथितरूपमा सन् १९९३ देखि सन् २०२२ को बीचमा भएको समाचारमा उल्लेख छ ।

बिहीबार मध्य प्रान्त हुबेईमा घुसखोरी मामिलमा प्रारम्भिक सार्वजनिक सुनुवाइपछि अदालत स्थगित गरिएको र फैसलाको घोषणा पछि गरिने सिसिटिभीले बताएको छ ।

प्रकाशित मिति: ७ बैशाख २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्