अमेरिकामा लाग्न सक्छ टिकटकमाथि प्रतिबन्ध


 


काठमाडौं । अमेरिकी सदनले सोसल मिडिया प्लेटफर्म टिकटकका चिनियाँ मालिकलाई कि त आफ्नो हिस्सेदारी बेच्न वा अमेरिकामा प्रतिबन्धको सामना गर्न बाध्य पार्ने विधेयक पारित गरेका छ ।

अमेरिकी सांसदहरूले विधेयकमा मतदान गर्दै टिकटकको चिनियाँ मालिक बाइटडान्सलाई कडा छनोटको विकल्प दिएका हुन्।

लाखौं अमेरिकीहरूको डाटा चीनको हातमा पर्न सक्ने डरले बेइजिङस्थित कम्पनीबाट टिकटकलाई विभाजन गर्ने अमेरिकी कांग्रेसको प्रयाससहित पारित विधयेकले भनेको छ, ‘कि यसको अमेरिकी व्यवसाय बेच्नुहोस् वा प्रतिबन्धको सामना गर्नुहोस्।’ टिकटकले बाइटडान्स ‘चीन वा अन्य कुनै देशको एजेन्ट होइन’ भनेको छ । साथै, बाइटडान्सले यो चिनियाँ फर्म नभएको तर्क पनि गरेको छ । किनकि बाइटडान्समा धेरै विश्वव्यापी लगानी फर्महरू पनि आबद्ध छन् । विश्वभरका विभिन्न लगानी कमपनीहरूको बाइटडान्समा ६० प्रतिशत स्वामित्व छ ।

तर अमेरिकामा यस एपको असाधारण सफलताका कारण यसलाई वाशिङटनले बेइजिङसँगको एउटा प्रमुख मुद्दा बनाएको छ।

टिकटकमा लगभग १७ करोड अमेरिकीहरूले आफ्नो दिनको कम्तिमा एक घण्टा खर्च गर्ने गर्दछन् । प्यू रिसर्च सेन्टरका अनुसार त्यसमा १० मध्ये छ जना किशोर किशोरीहरूले यसको प्रयोग गर्दछन् । त्यसमध्ये पनि २० प्रतिशत टिकटकमा ‘लगभग निरन्तर’ रहने गरेका छन् ।

अनुसन्धानका अनुसार ४० प्रतिशतभन्दा बढी अमेरिकी प्रयोगकर्ताहरूले टिकटक उनीहरूको लागि समाचारको नियमित स्रोत रहेको बताएका छन् ।

तर, धेरैले टिकटकमाथिको प्रतिबन्धलाई अभिव्यक्ति स्वतन्त्रताको उल्लंघनको रूपमा चुनौती दिन सकिने बताएका छन् । यसको निरन्तर अनुगमन गर्न प्रहरीलाई पनि गाह्रो छ र चुनावी वर्षमा त यो सम्भवतः धेरै अप्रिय रहने गर्दछ । समाचारका अनुसार बाइटडान्सलाई एप बेच्न बाध्य पार्नु सरल देखिन्छ । तर, त्यो विकल्पले पनि धेरै अवरोधको सामना गर्नु पर्दछ ।

किनकि विश्लेषकहरूका अनुसार बेइजिङले यसको बिक्रीलाई रोक्न सक्दो प्रयास गर्नेछ । साथै, टिकटकको १०० अमेरिकी डलरको अमेरिकी संरचना कसले किन्ने भन्ने बारे पनि अन्योल छ ।

र सबैको सबैभन्दा ठूलो प्रश्नः के बाइटडान्सले आफनो सबैभन्दा सफल एप बेच्नेछ ?

डुइनदेखि टिकटकसम्मको यात्रा
चिनियाँ उद्यमीहरूद्वारा सन् २०१२ मा स्थापित बाइटडान्सले पहिलो पटक चीनमा छोटो भिडियो एप डुइन ल्याएको थियो । थोरै समयमा नै यस एपले बजारमा सफलता प्राप्त गर्यो । एक वर्ष पछि बाइटडान्सले अन्तर्राष्ट्रिय संस्करणका रुपमा टिकटक सुरु गर्यो । टिकटक चीनमा प्रतिबन्धित थियो तर पनि पाँच वर्षमा यसले एक अर्ब प्रयोगकर्ता बनायो ।

हाल बाइटडान्स लस एन्जलस र सिंगापुरमा रहेको एक सीमित दायित्वको कम्पनीद्वारा संचालित छ । हुनत यसका संस्थापकहरूले बाइटडान्सको २० प्रतिशत मात्र स्वामित्व राख्छन् । तर, यो कम्पनीमा नियन्त्रण गर्ने हिस्सेदारी हो ।
यसका साथै, बाइटडान्सको ६० प्रतिशत स्वामित्व संस्थागत लगानीकर्ताहरूमा रहेको छ । जसमा जनरल एट्लान्टिक, सुस्केहन्ना र सेक्विया क्यापिटलजस्ता प्रमुख अमेरिकी लगानी कमपनीहरू छन् ।

र बाँकी २० प्रतिशत विश्वभरका कर्मचारीहरूको स्वामित्वमा रहेको छ । कम्पनीका पाँच बोर्ड सदस्यमध्ये तीनजना अमेरिकी रहेका छन् ।

तर हालैका वर्षहरूमा निजी कम्पनीहरूमा बेइजिङको पकडले अमेरिकालाई चिन्तित बनाएको छ । बाइटडान्समा चिनियाँ कम्युनिष्ट पार्टीको कत्तिको नियन्त्रण छ र यसमा रहेका डाटाहरू कति सुरक्षित छन् भन्ने चिन्ता निराधार नभएको पनि अमेरिकी भनाइ छ ।

प्रजातन्त्र समर्थक प्रदर्शनकारीहरूको जासूसी गर्न टिकटक दुरुपयोगको आरोप
गत वर्ष, एक पूर्वबाइटडान्स कर्मचारीले बेइजिङले २०१८ मा हङकङमा प्रजातन्त्र समर्थक प्रदर्शनकारीहरूको जासूसी गर्न टिकटक प्रयोगकर्ताको डेटा पहुँच गरेको भन्दै आरोप लगाएर मुद्दा गरे । हुनत बाइटडान्सले यसलाई “निराधार“ भनी खारेज गर्यो ।

तर गुप्तचर अधिकारीहरूले जासुसी, निगरानी र ह्याकहरू बढ्दै गएको चेतावनी दिएपछि अमेरिकाले आफ्नो भुमिमा चीनको ठूलो संस्थामाथि दबाब बढाउँदै गएको छ ।

सन् २०२२ मा, वाशिंगटनले हवाहे र जेडटीई लगायत पाँच चिनियाँ कम्पनीहरूबाट सञ्चार उपकरणहरूको बिक्री र आयातमा प्रतिबन्ध लगायो । अमेरिकी शंका यतिमै सिमीत रहेन । हाल अमेरिकी बन्दरगाहहरूमा सेनाले प्रयोग गर्ने चीनमा निर्मित क्रेनहरूमाथि पनि शंका गर्न थालिएको छ ।

बेइजिङले यी चिन्ताहरूलाई अमेरिकी पागलपनको रूपमा चित्रित गर्दै खारेज गरेको छ । र चेतावनी पनि दिएको छ कि टिकटक प्रतिबन्ध “कालान्तरमा अमेरिकालाई नै हानी गर्न उद्दत हुनसक्छ।“

टिकटकका सिंगापुरका सीईओ शाउ जि च्युलाई अमेरिकी कांग्रेसले एक वर्षभन्दा कम अवधिमा दुई पटक बयान लिइ सकेको छ । र एपको जडान र उनको चिनियाँ अधिकारीहरूसँगको व्यक्तिगत सम्बन्धहरूमाथि प्रश्न उठाएको छ । उनले आफु चिनियाँ नभएको र सिंगापुरको भएको भन्दै दिएको जवाफ सामाजिक संजालमा भाइरल भएको थियो ।

टिकटकका सिंगापुरका सीईओ शाउ जि च्युले सदनमा भोट पछि भने कि टिकटकले अमेरिकी प्रयोगकर्ताहरूको पहुँच सुरक्षित गर्न, सम्पूर्ण कानुनी अधिकारको प्रयोग गर्ने कोशिश जारी राख्नेछ ।

बाइटडान्सले वाशिंगटनलाई आश्वस्त पार्न गरेका प्रयासहरूको बावजुद अमेरिकी हाउस अफ रिप्रिजेन्टेटिभ्सले मार्चमा बाइटडान्सलाई गैर–चिनियाँ मालिकहरूलाई टिकटक बेच्न छ महिना दिन वा एपलाई अमेरिकामा रोक लगाउन मतदान गरेको थियो । उक्त विधेयक सिनेटबाट अनुमोदन हुन बाँकी थियो ।

शनिबार अमेरिकी संसद्ले त्यहि उपायमा फेरि मतदान गरेको छ । र यस पटक टिकटकमा प्रतिबन्धबाहेक शनिबार युक्रेन, इजरायल र ताइवानलाई सहयोग गर्ने वाचासहितका अन्य बिधेयकहरूसँग यसलाई अमेरिकी संसद्ले स्विकृत गरेको छ ।

अब कि त सोशल मिडिया प्लेटफर्म टिकटकका चिनीयाँ मालिकले आफ्नो हिस्सेदारी बेच्नु पर्नेछ कि अमेरिकामा टिकटक प्रतिबन्ध हुनेछ । यसमा बाइटडान्स तथा बेइजिङले कसरी प्रतिकृया दिनेछ हेर्ने बाँकि छ ।

प्रकाशित मिति: ९ बैशाख २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्