लोडसेडिङ कम गर्न असहयोग गर्नेमाथि अनुसन्धान भइरहेको छ – शर्मा


 


चितवन, पुस २२

ऊर्जामन्त्री जनार्दन शर्माले विद्युत्लाइन पुगेको ठाउँलाई लोडसेडिङमुक्त गर्न मन्त्रालय प्रयासरत् रहेको बताएका छन् । प्रेस सेन्टर चितवनले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले ‘प्रसारणलाइन नपुगेका ठाउँमा विद्युत् विस्तार कार्यलाई पनि तीव्रता दिइएको छ’–भने ।

मन्त्री शर्माले काठमाडौं, पोखरा, विराटनगरलगायतका ठाउँमा लोडसेडिङ नभएको भन्दै अन्य क्षेत्रमा पनि दुई घन्टाको हाराहारीमामात्र लोडसेडिङ रहेको बताए । लोडसेडिङ क्रमशः घटाउँदै लैजाने बताउँदै उनले जनशक्ति र प्रविधिको सही उपयोग गर्न सकेकै कारण लोडसेडिङ घटाउन सकेको बताए ।

मन्त्री शर्माले लोडसेडिङ कम गर्न असहयोग गर्नेमाथि अनुसन्धान भइरहेको बताउँदै आन्तरिकरुपमा काम भइरहेकाले के–कति कारबाहीमा पर्छन् अहिले नै भन्न नसकिने धारणा व्यक्त गरे । झोलामा लाइसेन्स राख्ने परम्पराको अन्त्य गरी लाइसेन्स बिक्री गर्न नपाउने व्यवस्था गरिएको जानकारी दिदैं उनले ‘जसले काम गर्छ, उसलेमात्र लाइसेन्स पाउँछ’–भने ।

मन्त्री शर्माले संविधान संशोधन प्रक्रियामा जान पुस २४ गतेसम्ममा दलहरुकाबीच सहमति जुट्ने बताउँदै ‘विषयवस्तु वा प्रक्रियामा सहमति गर्ने गृहकार्य भइरहेको छ, मलाई लाग्छ प्रक्रियामा सहमति हुन्छ’–भने । सरकार संविधान संशोधन गराउने कुरामा प्रयासरत् रहेको छ’–उनले भने–‘सरकारले सबै दललाई सहमतिमा ल्याएर देशलाई निर्वाचनतर्फ लैजाने तयारीमा रहेको छ ।’

प्रकाशित मिति: २२ पुस २०७३, शुक्रबार

प्रतिक्रिया दिनुहोस्