राजदूतले मध्यपूर्वमा युक्रेन युद्धबारे वार्ता गरेको चीनको भनाइ


 



काठमाडौं । युरेसियाका लागि चीनका राजदूतले युक्रेन युद्धमा नरम कूटनीतिको तेस्रो चरण पूरा गरेको आफूलाई युद्धमा मध्यस्थकर्ताका रूपमा स्थापित गर्न खोजेको बेइजिङले शुक्रबार बताएको छ ।

युक्रेन युद्धमा तटस्थ पक्ष भएको दाबी गर्ने चीनले कहिल्यै पनि रुसको आक्रमणको निन्दा गरेको छैन भने संयुक्त राज्य अमेरिकाले बेइजिङको समर्थनबिना मस्कोले आफ्नो युद्धलाई निरन्तरता दिन सङ्घर्ष गर्ने बताएको छ । 

मे ३ देखि ९ सम्मको आफ्नो टर्कीए, इजिप्ट, साउदी अरब र संयुक्त अरब इमिरेट्स युएईको भ्रमणमा राजदूत ली हुईले त्यहाँका कूटनीतिज्ञहरूलाई भेटेर सबै पक्षसँग ‘सीधा वार्ता पुनः सुरु गर्ने अवस्था सिर्जना’ गर्न आह्वान गर्नुभएको चीनको विदेश मन्त्रालयले विज्ञप्तिमा बताएको छ । 

यसै वर्षको प्रारम्भमा उहाँले युद्धमा मध्यस्थताका लागि बेइजिङको पहलअन्तर्गत रुस, युक्रेन र युरोपेली सङ्घ इयुका मुलुकहरूको भ्रमण गर्नुभएको थियो । “युक्रेन सङ्कटका बारेमा चीनले सबै पक्षसँग विचारहरूको गहन आदानप्रदान गरेको छ र सबै पक्ष परिस्थितिलाई शान्त पार्ने चीनको प्रस्तावहरूमा सहमत भएका छन्”, पछिल्लो भ्रमणका बारेमा विदेश मन्त्रालयलको विज्ञप्तिमा भनिएको छ । 

राजदूत लीले ग्यास पाइपलाइन र ऊर्जा सुविधाजस्ता ‘प्रमुख पूर्वाधार संरचनाको सुरक्षा’ का साथै विश्वव्यापी आपूर्ति शृङ्खलाको स्थिरता कायम राख्न मानवीय सहायता र अन्तर्राष्ट्रिय सहयोगका लागि पनि आग्रह गर्नुभएको विज्ञप्तिमा उल्लेख छ । 

भ्रमणअघि लीले ब्राजिल, दक्षिण अफ्रिका, इन्डोनेसिया र कजाकिस्तानसहित अन्य मुलुकका अधिकारीहरूसँग पनि वार्ता गर्नुभएको विज्ञप्तिमा बताइएको छ । “सबै पक्ष सञ्चार र समन्वय कायम राख्न सहमत भएका छन्, साथै परिस्थितिलाई शान्त बनाउने प्रयासका लागि अन्तर्राष्ट्रिय समुदायको समर्थनलाई स्वागत गरेका छन्”, विज्ञप्तिमा उल्लेख छ । 

चीन र रुसले हालका वर्षहरूमा आर्थिक सहयोग र कूटनीतिक सम्पर्क बढाएका छन् र युक्रेनमा आक्रमणपछि उनीहरूबीचको रणनीतिक साझेदारी घनिष्ठ भएको छ । 

प्रकाशित मिति: २८ बैशाख २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्