दक्षिण चीन सागरमा रातो रेखा पार नगर्न चीनलाई फिलिपिन्सको चेतावनी


 


एजेन्सी । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड मार्कोस जुनियरले चीनलाई दक्षिण चीन सागरमा रातो रेखा पार नगर्न चेतावनी दिएका छन् ।

पछिल्लो समय दक्षिण चीन सागर क्षेत्रमा चीन र फिलिपिन्सबीच द्वन्द्व बढ्दै गएको छ । यही क्रममा राष्ट्रपति मार्कोस जुनियरले चीनलाई चेतावनी दिएका हुन् ।

यदि कुनै चिनियाँ कार्यले एक जना फिलिपिन्स नागरिकको पनि मृत्यु हुन्छ भने, फिलिपिन्सले यसलाई ‘युद्धको कार्य’ मान्ने र सोही अनुसार प्रतिक्रिया दिने उनले बताएका छन् ।

राष्ट्रपति जुनियरले सिंगापुरमा विश्वका धेरै देशका रक्षामन्त्रीहरुको सहभागिता रहेको एक सुरक्षा मञ्चमा बोल्ने क्रममा यस्तो बताएका हुन् । कार्यक्रममा अमेरिकी रक्षामन्त्री लोयड अस्टिन पनि सहभागी थिए ।

अमेरिकी रक्षामन्त्रीले यो क्षेत्र अमेरिकाका लागि महत्वपूर्ण रहेको र एसिया सुरक्षित भए मात्रै अमेरिका पनि सुरक्षित हुने बताए ।

हालैका महिनाहरूमा, दक्षिण चीन सागरमा दाबीलाई लिएर चीन र फिलिपिन्स बीचको तनाव बढ्दै गएको छ, धेरै मामिलाहरूमा टकरावको बिन्दुमा पुगेको छ ।

फिलिपिन्सले चिनियाँ जहाजहरूले आफ्नो गस्ती डुंगालाई पानीको तोपले आक्रमण गरेको आरोप लगाएको छ भने चीनले आफ्नो सार्वभौमसत्ताको रक्षा गरिरहेको तर्क गरेको छ ।

विश्लेषकहरूले दक्षिण चीन सागरमा दुई देशबीचको कुनै पनि झडप ठूलो द्वन्द्वमा परिणत हुन सक्ने डर छ ।

प्रकाशित मिति: २० जेष्ठ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्