श्रीलङ्कामा मनसुनी बाढीका कारण १४ को मृत्यु


 



काठमाडौं । टापु राष्ट्र श्रीलङ्कामा मनसुनी आँधीबेहरीसहित आएको बाढी, पहिरो र रूखहरू ढलेका कारण कम्तीमा १४ जनाको मृत्यु भएको मुलुकको प्रकोप व्यवास्थपन केन्द्र (डिएमसी)ले आइतबार बताएको छ ।

आइतबार राजधानी कोलम्बो नजिकै एकै परिवारका तीन सदस्यसहित केहीको डुबेर मृत्यु भएको छ । डिएमसीले ११ वर्षीया बालिका र २० वर्षीय पुरुषसहित अन्य पहिरोमा पुरिएको बताएको छ । मे २१ मा मनसुन तीव्र भएदेखि सात जिल्लामा रुख ढलेर अन्य नौ जनाको ज्यान गएको डिएमसीले जनाएको छ ।

श्रीलङ्का सिँचाइ र जलविद्युत्का लागि मौसमी मनसुन वर्षामा निर्भर छ । विज्ञहरूले जलवायु परिवर्तनका कारण विश्व तातो भएकाले मुलुकले बारम्बार बाढीको सामना गर्नुपरेको चेतावनी दिएका छन् ।

डिएमसीले देशका २५ मध्ये २० जिल्ला भारी वर्षाले प्रभावित भएको र मुख्य नदी किनारमा बस्ने मानिसहरूलाई उच्च जमिनमा जान चेतावनी दिइएको बताएको छ ।

कोलम्बोको मुख्य अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका उडानहरूलाई सानो विमानस्लमा मोडिएको छ र केही प्रमुख राजमार्गहरू धेरै निकासहरूमा बाढी आएको छ ।

थप वर्षाको सम्भावना रहेकाले सरकारले साताको बिदापछि सोमबार पनि सबै विद्यालय बन्द गर्न निर्देशन दिएको छ । “तीव्र हावा र मेघ गर्जनसहित अझै भारी वर्षा हुन सक्छ”, डिएमसीले भनेको छ

गत साता वन्यजन्तु अधिकारीहरूले सातवटा जवान हात्तीको शव फेला पारेका थिए । पछिल्लो पाँच वर्षमा यो जनावरहरूको सबैभन्दा ठूलो क्षति थियो ।

दक्षिणपश्चिम मनसुनको शुरुआतले कोलम्बोको लगभग दुई सय ५० किलोमिटर उत्तरपूर्वी डिम्बुलागालामा हात्तीको बासस्थानमा बाढी आएको थियो ।

प्रकाशित मिति: २० जेष्ठ २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्