सिक्किममा पीएस गोले झन् शक्तिशाली


 


काठमाडौँ । पाँच वर्षअघि सिक्किम विधानसभाको ३२ मध्ये १७ सिट जितेर सिक्किमको मुख्यमन्त्री बनेका प्रेमसिंह गोले नेतृत्वको सिक्किम क्रातिकारी मोर्चा (एसकेएम) ले यसपटकको विधानसभा चुनावमा इतिहास रचेको छ।

विधानसभा चुनावमा ३१ सिटमा निर्वाचित भएर गोले र उनको दल एसकेएम झन् शक्तिशाली भएको हो। सन् २०१९ मा भएको चुनावमा मोर्चाले १७ सिटमा जितेपछि गोले मुख्यमन्त्री बनेका थिए। पूर्वमुख्यमन्त्री पवन चाम्लिङको दल भने एक सिटमा सीमित भएको छ। चाम्लिङ आफैँ दुई ठाउँबाट पराजित हुँदा गोले दुई ठाउँबाट निर्वाचित भएका छन्।

इन्डिया टुडेका अनुसार गोले सरकारी विद्यालयको शिक्षक छाडेर राजनीतिमा लागेका हुन्। सन् १९९० देखि शिक्षण पेसामा लागेका गोले केही वर्षपछि राजनीतिमा संलग्न भएकमा थिए। सन् १९९४ मा चाम्लिङको नेतृत्वमा सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) गठन हुँदा गोले पनि त्यसमा आबद्ध थिए। त्यसैले चाम्लिङलाई गोलेका राजनीतिक गुरु पनि भन्ने गरिन्छ।

विधानसभा चुनावमा फ्रन्टबाटै निर्वाचित हुँदै गोलेले सन् २००९ सम्म चाम्लिङकै क्याबिनेटमा विभिन्न जिम्मेवारी पाएका थिए। त्यसपछि चाम्लिङ र गोलेबीच मनमुटाव हुन थाल्यो। उनले चाम्लिङमाथि भ्रष्टाचार गरेको आरोप मात्रै लगाएनन् पार्टीलाई परिवारवादमा चलाएको भन्दै विद्रोह नै गर्न पुगे।

२००९ डिसेम्बरमा गोलेको नेतृत्वमा रोलु खेल मैदानमा एउटा र्‍याली निकालिएको थियो। उक्त र्‍यालीमा सम्बोधन गर्दै गोलेले एसडीएफ र चाम्लिङविरुद्ध व्रिदोहको घोषणा गरेका थिए। चाम्लिङ सरकारले उक्त कार्यक्रममा सहभागी सरकारी कर्मचारीलाई कारबाही गरेको थियो। त्यसपछि उनले एसडीएफबाट राजीनामा दिएर सन् २०१३ मा सिक्किम क्रान्तिकारी मोर्चा (एसकेएम) को स्थापना गरे।

सन् २०१४ मा भएको विधानसभा चुनावमा एसकेएमले १० सिट जितेर सशक्त प्रतिपक्षी भएको थियो। गोलेको दल बलियो प्रतिपक्षी बने पनि उनीमाथि भ्रष्टाचार मुद्दा लागेको थियो। सन् १९९४ र १९९९ को बीचमा पशुपालनमन्त्री हुँदा १० लाख रुपैयाँ हिनामिना गरेको आरोपमा उनी दोषी ठहरिएका थिए। अदालतले विधानसभा सदस्य खारेज गरिदियो। उनले अदालतको फैसलालाई चुनौती दिए। त्यसपछि उनी आत्मसमर्पण गर्न पुगेका थिए। केही वर्ष उनी जेल परेका थिए।

यस घटनाले गोलेको लोकप्रियता बढ्न पुग्यो। सिक्किमेली जनताले उनीमाथि भएको कारबाही र जेल सजायलाई आफ्ना राजनीतिक गुरुविरुद्ध विद्रोह गरेको भनेर प्रशंसा गरे। सन् २०१८ मा जेलमुक्त हुँदा उनलाई हजारौँ सिक्किमेलीले स्वागत गरे। उनका पक्षमा जुलुस निकालेका थिए।

गोलले सन् २०१९ को चुनाव भने लडेका थिएनन्। यद्यपि २०१९ मे २७ मा उनले मुख्यमन्त्रीको शपथ लिएका थिए। त्यसपछि भएको उपनिर्वाचनमा भने गोले निर्वाचित भए। सोही कारण उनको मुख्यमन्त्री पद सुरक्षित रहन पुगेको थियो।

मुख्यमन्त्री भएपछि उनले शैक्षिक, आर्थिक र सामाजिक सुधारका काम गर्न थालेका थिए। गोलेले शिक्षक, उपप्राध्यापकलगायत श्रमिकको पारिश्रमिक वृद्धि गरेका छन्। गरिबीको रेखामुनि रहेका ५० सिक्किमेली विद्यार्थीलाई एमबीबीएस पढाउने योजना अघि सारेका छन्। एकवर्षे सुत्केरी बिदा, विद्यार्थी र किसानलाई विभिन्न सहयोग र अनुदानलगायतका योजना पनि ल्याएका छन्। उनी अब दोस्रो कार्यकालका लागि मुख्यमन्त्री बन्ने पक्कापक्की भएको छ।

सोही अभियानलाई निरन्तरता दिएका गोलेले आफ्नो राजनीतिक भविष्य सुरक्षित गरेका छन् भने आफ्नै राजनीतिक गुरु चाम्लिङलाई किनारा लगाइदिएका छन्। चाम्लिङ सन् १९९४ देखि २०१९ सम्म निरन्तर पाँच पटक मुख्यमन्त्री बनेर भारतमा सबैभन्दा धेरै कार्यकाल मुख्यमन्त्री बनेका नेता हुन्।

प्रकाशित मिति: २१ जेष्ठ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्