वीरगन्ज महानगरभित्रका विद्यालयमा बिहान साढे १० भित्र पठनपाठन सक्नुपर्ने


 


वीरगन्ज । वीरगन्ज महानगरपालिकाले अत्यधिक गर्मी बढेसँगै बिहानको साढे १० बजेभित्रै पठनपाठन सकाउन सामुदायिक तथा निजी विद्यालयलाई निर्देशन दिएको छ ।

महानगरको आइतबार बसेको बैठकले वीरगन्ज आसपासको क्षेत्रमा फेरि अत्यधिक गर्मी बढेसँगै आजदेखि विद्यालयको पठनपाठन सीमित अवधिमा मात्रै गर्न निर्देशन दिएको हो ।

वीरगन्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराईले तराई क्षेत्रमा गर्मी बढिरहेको र अझै केही दिन गर्मी बढ्नसक्ने मौसम विभागको पूर्वानुमानलाई मध्यनजर गर्दै बिहानीको समयमा पठनपाठन गराउन निर्देशन दिएको बताए ।

वीरगन्ज महानगर क्षेत्रमा यसअघि बिहान ६ बजेदेखि बिहानी सत्रमा पठनपाठन हुँदै आइरहेको थियो । महानगरले गत वैशाख २० गतेदेखि बिहानी सत्रमा पठनपाठन गराउँदै आइरहेको थियो ।

महानगरको शिक्षा समितिको २०८१ जेठ १४ गते बसेको बैठकले यसअघि वीरगन्जमा अत्यधिक गर्मीको कारणले जेठ १६ गतेदेखि १८ गतेसम्मको लागि तीन दिन विद्यालयको पठनपाठन बन्द गरिएको थियो ।

त्यसपछि वर्षा भए पनि वीरगन्जमा बिहानकै समयमा पठनपाठन हुँदै आइरहेको थियो । महानगरभित्र सामुदायिकतर्फ ९२ वटा र निजीतर्फ १३८ विद्यालय छन् । सामुदायिक विद्यालयतर्फ २१ माध्यमिक, १५ आधारभूत, ५५ वटा प्राथमिक विद्यालय र एउटा पूर्वप्राथमिक विद्यालय छ ।

प्रकाशित मिति: २८ जेष्ठ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्