भारतीय राष्ट्रपतिद्वारा मोदीको शपथ समारोहमा सहभागीहरूको सम्मानमा रात्रिभोज


 


काठमाडौँ । भारतीय राष्ट्रपति द्रोपदी मुर्मुले प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ ग्रहण समारोहमा सहभागी विशिष्ट व्यक्तिहरुको सम्मानमा रात्रिभोजको आयोजना गरेकी छन् ।

राष्ट्रपति भवनको प्राङ्गणमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री मोदीलाई तेस्रो कार्यकालका लागि पद तथा गोपनीयताको शपथ गराएपछि राष्ट्रपति मुर्मुले रात्रिभोजको आयोजना गरेको परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्सालले जानकारी दिइन् ।

रात्रिभोजमा नेपालका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, श्रीलङ्काका राष्ट्रपति रणील विक्रमासिङ्गे, मालदिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जु, बङ्गलादेशका प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, मौरिससका प्रधानमन्त्री प्रबिन्द जुग्नौथलगायत विशिष्ट अतिथि उपस्थित थिए ।

रात्रिभोजका अवसरमा प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री मोदीबिच संक्षिप्त कुराकानी पनि भएको जनाइएको छ । रात्रिभोजमा आजै पद तथा गोपनीयताको शपथ लिनुभएका भारतका संघीय मन्त्री एवं राज्यमन्त्रीहरू, भारतका विभिन्न राजनीतिक दलका नेता तथा लब्धप्रतिष्ठित व्यक्तित्वहरूको सहभागिता थियो । रासस

प्रकाशित मिति: २८ जेष्ठ २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्