शिक्षकको कुटाइबाट विद्यार्थी घाइते, टाउकोमा चोट
सुर्खेत, असार १७ । सल्यानको एक बोर्डिङ स्कुलमा शिक्षकले विद्यार्थीलाई कुटपिट गरेर घाइते बनाएका छन् ।
आइतबार त्रिवेणी गाउँपालिका–६ लुहाममा रहेको बल्यान पब्लिक स्कुलमा कक्षा ६ मा अध्ययनरत विद्यार्थी अरुण विक शिक्षकको कुटाइबाट घाइते भएका हुन् ।
कक्षा चलेका बेला खेलेको भन्दै शिक्षक चन्द्रबहादुर डाँगीले अरूणलाई फलामको स्केलले हानेका हुन् । फलामको स्केल प्रहारबाट उनको टाउकोमा चोट लागेको छ ।
घाइते अरुणलाई तत्काल स्थानीय मेडिकलमा उपचारका लागि लगिएको थियो। मेडिकलमा टाँका लगाउने सामान नभएपछि जिल्ला अस्पताल लगिएको त्रिवेणी गाउँपालिका–६ का वडाध्यक्ष मनोज शाहले बताए।
गाउँपालिकाका अध्यक्ष खिमबहादुर रावतले घटनाबारे अनुुसन्धानका लागि प्रहरीलाई आग्रह गरिएको बताए ।
विद्यालयले भने अभिभावक, विद्यालय र स्थानीयबीच छलफल गरिने बताएको छ ।
प्रकाशित मिति: १७ असार २०८१, सोमबार
















