निर्वाचन आयुक्तमा प्रस्तावित प्रधानबारे सुनुवाइ समिति अनिर्णित
काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले निर्वाचन आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानसँग छलफल गरेको छ।
प्रस्तावित निर्वाचन आयुक्त प्रधानसँग समितिले छलफल गरेपनि कुनै निर्णय भने लिएको छैन।
प्रधानबारे संसदीय सुनुवाई समितिले थप छलफल गर्नुपर्ने आवश्यक रहेको निष्कर्ष निकालेको छ ।
बुधबार बसेको समितिको बैठकमा प्रधानबारे समितिले गोप्य बैठकमा छलफल गरेको थियो । प्रधानका विषयमा अर्को बैठकले निर्णय गर्ने बताईएको छ ।
तर अर्को बैठक कहिले बस्ने मिति तोकिएको छैन। प्रधानमाथि नेपाल कानुन समाजमा कार्यरत रहँदा सहकर्मीलाई यौन शोषण गरेको आरोप छ ।
पीडित महिला आफैँ समितिमा आएर प्रधानले गरेको शोषणबारे जानकारी दिएकी थिइन्।
प्रधानले आफूमाथि लागेको आरोपबारे जिल्ला अदालतमै सम्बन्धित व्यक्तिसँग मिलापत्र भइसकेको प्रष्टीकरण दिएका थिए ।
प्रकाशित मिति: ९ श्रावण २०८१, बुधबार











