एक अर्बको आलु उत्पादन


 


बागलुङ, माघ ११

जिज्लामा वार्षिक रु एक अर्ब बढीको आलु उत्पादन हुने गरेको छ । जिल्ला कृषि विकास कार्यालयका कृषिप्रसार अधिकृत विप्लब अधिकारीका अनुसार कुल तीन हजार हेक्टर क्षेत्रफलमा वार्षिक रु एक अर्ब ६ करोड मूल्य बराबरको ३५ हजार मेट्रिक टन आलु उत्पादन हुन्छ ।

दुई हजार हेक्टरमा हिउँदे तथा एक हजार हेक्टरमा वर्षे आलु उत्पादन हुन्छ । कार्यालयको तथ्याङ्कअनुसार रु २६ करोड ७० लाख ७५ हजार बराबरको आलु जिल्लाबाहिर बिक्री हुने गरेको छ । अन्य खाद्यन्न बालीसँग साटासाट गर्दा, कोसेली दिँदा पनि ठूलो हिस्सामा आलु खपत हुने गरेको अधिकारीको भनाइ छ ।

व्यावसायिक र परम्परागत दुवै हिसाबले जिल्लाको अधिकांश भू–भागमा आलुखेती हुने गरेको बागवानी विकास अधिकृत महिमा बज्राचार्य बताउनुहुन्छ । कतिपय गाविसमा त प्रमुख बालीको रुपमा आलु लगाउने गरिन्छ । ‘बोवाङ, निसी जस्ता गाविसमा खानाकै रुपमा आलु प्रयोग हुन्छ ।

किसानले वर्षको तीन बाली आलु फलाउने गरेका छन् । गत वर्षा याममा मात्र ११ हजार ५०० मेट्रिक टन आलु उत्पादन भएको थियो । यहाँ उन्नत र स्थानीय जातको विशेष गरी जनकदेव, ‘कार्डिनल’, ‘एमजे ४२’ लगायत आलु उत्पादन गरिन्छ ।

कार्यालयले आलुखेती प्रवद्र्धनका लागि किसानलाई आकस्मिक सेवा प्रदान गर्दै आएको छ । आलुको दोस्रो ठूलो पकेटक्षेत्र ताराखोलामा कार्यालयकै आर्थिक सहयोगमा आलु भण्डारण केन्द्र स्थापना गरिएको छ ।

बोवाङ, बुर्तिबाङ, तमान, ताराखोला, धम्जा, अर्गल, अमरभूमि, दमेकलगायत गाविसलाई ‘पकेट क्षेत्र’ घोषणा गरिएको छ ।

प्रकाशित मिति: ११ माघ २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्