नेप्से निरन्तर ओरालो


 


काठमाडौँ, माघ १२

केही दिनदेखि निरन्तर ओरालो लागेको सेयर बजारमा आज पनि उच्च गिरावट आएको छ । आज नेप्से परिसूचक ३६ दशमलव ३८ अङ्कले घट्दा कारोबार रकम दोब्बरले बढेर रु ५९ करोड पुगेको छ । निरन्तरको ओरालो पछि नेप्से एक हजार ३९६ बिन्दुमा आइपुगेको छ ।

नेप्से परिसूचक मङ्गलबार २५ अङ्कले ओरालो लागेर एक हजार ४३३ बिन्दुमा आइपुगेको थियो । बजारमा उत्पादनमूलकबाहेक सबै समूहका परिसूचक नकारात्मक छन् ।

जसमा सबैभन्दा बढी बिमा समूह २६७ अङ्कले घटेको छ । यसैगरी बजारमा सबैभन्दा बढी प्रभाव पार्ने बैंकिङ समूहको परिसूचक ३६ अङ्कले घटेको छ भने विकास बैंक समूह २९ अङ्कले ओरालो लागेको छ ।

यस्तै होटल समूह ५८ अङ्कले ओरालो लाग्दा फाइनान्स समूह २४ अङ्कले घट्न पुगेको छ । बजारमा जलविद्युत् समूहको परिसूचक पनि ५१ अङ्कले ओरालो लागेको छ ।

दिनभर कुल १३५ कम्पनीको १७ लाख कित्ता सेयर खरिद बिक्री भएका छन् । आज पनि बजारमा सबैभन्दा बढी प्रभु बैंकको सेयर कारोबार भएको छ ।

प्रकाशित मिति: १२ माघ २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्