महँगिदै बैंकको ऋण


 


काठमाडाैं, माघ १३

अनामगरकी अप्सरा पौडेलले गत वर्ष गाडी किन्न एक वाणिज्य बैंकबाट १४ लाख कर्जा लिएकी थिइन् । वार्षिक ७ प्रतिशत ब्याजदरमा लिइएको उनको कर्जाको ब्याजदर बढेर अहिले १२ प्रतिशत पुगेको छ ।

ऋण दिएको बैंकले उनलाई एक महिनाअघि नै डाकेर ब्याज बढेको जानकारी गराएको थियो । यस्तै चोभारका रामशरण केसीले पनि डेढ वर्षअघि घर बनाउन बैंकबाट ८.४९ प्रतिशत ब्याजमा ऋण लिएका थिए ।

बैंकमा तरलता अभाव हुन थालेपछि ऋण दिएको बैंकले किस्ता बढेको जानकारी गराएको छ । हाल उनले मासिक ५० हजारका दरले साँवा र ब्याज बुझाउँदै आएका छन् । १५ वर्षका लागि उनले ऋण लिएका हुन् ।

बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य पुँजी रित्तिएपछि बैंकर्सले कर्जाको ब्याजदरसमेत धमाधम बढाउन थालेका हुन् । आफ्ना ऋणीलाई बोलाएर बैंकले ब्याजदर बढेको सूचना दिन थालेका छन् ।

नयाँ ऋणीका लागि अहिले लिएको निक्षेप ब्याजदरको आधारमा नयाँ कर्जाको ब्याजदर तय गरिएको छ भने धेरै जसो बैंकहरूले पुराना ऋणीको समेत ब्याजदर बढाइसकेका छन् । कतिपय बढाउने प्रक्रियामा छन् । दुई वर्षअघि १० प्रतिशतमा लिएको कर्जाको ब्याजदर बढेर अहिले १२ देखि १५ प्रतिशत पुगेको छ ।

बजारमा लगानीयोग्य पुँजी अभाव भएपछि निक्षेप संकलनलाई आकर्षित गर्न अहिले बैंकले ब्याजदर बढाएका हुन् । नेपाल बैंकर्स एसोसिएसनका पूर्वअध्यक्ष तथा एनबी बैंकका प्रमुख कार्यकारी अधिकृत उपेन्द्र पौड्यालले निक्षेपमा ब्याजदर बढेपछि कर्जामा पनि ब्याजदर बढाउनैपर्ने बाध्यता भएको जानकारी दिए ।

‘अब १२ प्रतिशतमा निक्षेप संकलन गरेपछि १८ देखि १९ प्रतिशतसम्म कर्जामा ब्याज नलिए व्यवसाय धान्न गाह्रो हुन्छ’, उनले भने, ‘सम्पूर्ण लगानीमा कर्जा र निक्षेपको ब्याजदर अनुपात ५ प्रतिशतभन्दा बढी हुन नहुने व्यवस्था छ ।’

राष्ट्र बैंकको व्यवस्थाअनुसार कुल निक्षेपको ८० प्रतिशतमात्र कर्जा प्रवाह गर्न पाइन्छ । बाँकी २० प्रतिशत रकम बैंक आफैंले राख्नुपर्छ । ८० प्रतिशत कर्जाबाट बाँकी २० प्रतिशत र शून्य ब्याजदरको ६ प्रतिशत कर्जाको ब्याजलाई समेत समेट्नुपर्ने भएकाले कम्तीमा पनि १८ प्रतिशतभन्दा तलको ब्याजमा कर्जा दिँदा अप्ठ्यारो अवस्था आउने बैंकर्सको भनाइ छ ।

अाजकाे अन्नपूर्ण पाेष्टका अनुसार दुई साताअघि निक्षेप संकलनमा होडबाजी गरेका बैंकर्सले पछिल्लो समय मुद्दती खातामै १२ प्रतिशतसम्म ब्याज दिन थालिसकेका छन् । केही समय अघि सिभिल बैंकले ११.१ प्रतिशत ब्याजमा १११ दिने मुद्दती बचत माग गरेको थियो ।

एनसीसी बैंकले न्यूनतम एक लाख बचत गर्नेलाई वार्षिक १२ प्रतिशत ब्याज दिने गरी छोटो अवधिका निक्षेप माग गरेको छ । बैंकले १२० दिने (चार महिना) अवधिको लागि उच्च ब्याजदरको निक्षेप संकलन गर्न लागेको हो । यो मुद्दतीमा ९० प्रतिशत कर्जा सुविधा हुने र त्रैमासिक ब्याज भुक्तानी दिने जनाएको छ ।

प्रकाशित मिति: १३ माघ २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्