सुप्रिम सहकारी ठगी : रविविरुद्ध रुपन्देही अदालतमा थुनछेक बहस जारी
बुटवल। सुप्रिम सहकारी ठगीको आरोप लागेको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस सुरू भएको छ।
लामिछानेविरुद्धको मुद्धामा जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासमा मुद्दामा थुनछेक बहस सुरु भएको हो।
आज जाहेरवाला र प्रतिवादीको तर्फबाट बहस हुनेछ। दुवै तर्फबाट बहस सकिए आजै थुनछेकको आदेश आउने संभावना छ।
बिहीबार बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको थियो। पक्ष विपक्षका वकिलहरुले बहस गरेपछि आदेश आउने छ।
लामिछानेसहित २२ जनाविरुद्ध ६ माघमा पुरक अभियोजन दर्ता भएको थियो । उनीहरुलाई ठगी र संगठित अपराध कसुरको मुद्दा लगाइएको छ ।
सुप्रिम सहकारीमा जम्मा ४२ जना प्रतिवादी भएका छन् । २ करोड रुपैयाँ रवि लामिछानेको नाममा गएको उल्लेख भौचर समेत बरामद भएको थियो ।
यो ऋण १८ चैत २०७७ मा स्वीकृत भएको थियो र ४ लाख सेवा शुल्क कटाएर १ करोड ९६ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कको ग्लोबल आईएमई बैंकको भौचर मार्फत जम्मा भएको खुलेको थियो ।
प्रकाशित मिति: ११ माघ २०८१, शुक्रबार











