रवि लामिछाने रूपन्देही अदालतमा उपस्थित
बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रूपन्देही अदालत उपस्थित भएका छन्।
लामिछाने आज बिहान कानुन व्यवसायीको साथमा अदालतमा उपस्थित भएका हुन्। सुप्रिम सहकारी ठगी तथा संगठित अपराध मुद्दामा जिल्ला अदालत रुपन्देहीमा लामिछानेविरूद्ध मुद्दा छ।
गत आइतबार दर्ता भएको मुद्दा उपर जिल्ला न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बिहीबारदेखि थुनछेक बहस सुरू भएको थियो। अब लामिछाने पक्षका पाँच जना कानुन व्यवसायीले बहस गर्नेछन्।
त्यसपछि सरकारी वकिलले जबाफी बहस सकेर न्यायाधीशले फैसलाको निर्णय गर्नेछन्। लामिछाने बुधबार रूपन्देही जिल्ला अदालतमा हाजिर भएपछि न्यायाधीश योगीले बयान लिएर परिवार र उनका कानुन व्यवासायीको जिम्माजमानीमा छोडेका थिए।
लामिछाने बिहीबारदेखि नै हिरासत बाहिरै बसेर अदालतमा उपस्थित भइरहेका छन्। जिल्ला अदालत कास्की र काठमाडौंमा दर्ता भएका यसअघिका मुद्दामा भने लामिछानेलाई अदालतले हिरासतमा राख्न आदेश गरेको थियो।
सोही अनुसार हिरासतमै बसेर बहसमा उपस्थित भएका थिए। लामिछानेले कास्कीमा ६५ लाख र काठमाडौमा ६० लाख धरौटी बुझाएर रिहा भएका थिए। लामिछानेलाई परिवार र कानुन व्यवसायीको जिम्मा लगाएको भन्दै सरकारी वकिलले बहसमा प्रश्न उठाएका थिए।
प्रकाशित मिति: १३ माघ २०८१, आइतबार











