६ हजार कार्यालयको झन्डै ८५ खर्बको लेखापरीक्षण अन्तिम चरणमा

काठमाडौं । महालेखापरीक्षकको कार्यालयले देशभरका झन्डै ६ हजार कार्यालयको ८५ खर्बभन्दा बढीको लेखापरीक्षण गर्ने कार्य अन्तिम चरणमा पुर्याएको छ।
महालेखाबाट देशभरमा खटिएको लेखापरीक्षण टोलीले संघ, प्रदेश र स्थानीय तहका झन्डै ६ हजार कार्यालयको लेखापरीक्षण कार्यलाई द्रुत गतिमा अघि बढाइरहेको छ।
महालेखा परीक्षक तोयम रायाले हालसम्म ४ हजार २ सयवटा सरकारी कार्यालयको लेखापरीक्षण सम्पन्न गरी प्रारम्भिक प्रतिवेदन जारी गरिएको जानकारी दिए ।
महालेखाले लेखापरीक्षण गरेका कार्यालयको प्रारम्भिक बेरुजु औंल्याउँदै त्यसमा सुधार गर्न तथा असुलउपर हुन सक्ने भए सोअनुसार असुल गर्न तथा आवश्यक राय सुझाव पठाउन भन्दै सबै ४ हजार २ सयवटा कार्यालयमा प्रारम्भिक प्रतिवेदन पठाएको हो।
यस्तै, लेखापरीक्षण गरिएका थप १८ सय कार्यालयको प्रारम्भिक प्रतिवेदन जारी गर्ने तयारी गरिएको कार्यालयले जनाएको छ ।
प्रकाशित मिति: २० माघ २०८१, आइतबार