दारु र भारुविनाको राजनीति के राजनीति ?


 


संकेत कोइराला
एउटा छुकछुके मुसा जाँडको घ्याम्पोमा परेछ । भगीरथ प्रयास गर्दा पनि उ त्यहाँबाट उम्कन सकेन् । यो दृश्य टाढाबाट एउटा विरालाले देखिरहेको थियो । विरालो न पर्याे, उसले घ्याम्पोको मुखमा गएर मुसालाई जिस्काउँदै टन्न जाँड धोक्न सल्लाह दियो । तर मूसा परम शत्रुसंग दोस्ती गरेरै भएपनि त्यहाँबाट उम्कन चाहन्थ्यो ।

उसले विरालोलाई अनुनय विनय गर्दै भन्यो– ‘दाइ, म स्वभावैले धानचरी । तिम्रो कसम, धान उब्जाउने किसानको कसम म बरु तिम्रो आहार बन्न तयार छु तर जाँडमा डुबेर अगति परेर मर्न चाहन्न । बिन्ती छ, मलाई यहाँबाट मुक्त गराइदेउ ।’

बसी बसी आहारा मुखैमा आउन लागेपछि विरालो पनि लोभियो । उसले बाचा कसम गराएर आहाराको स्वीकृतिपछि उसलाई बाहिर निकालिदियो ।

मुसा बाहिर निस्की नसक्दै खुरुरुरु कुदेर दुलोमा पस्यो । विरालोले बाचा सम्झाउँदा मुसाले उत्तर दियो– ‘तेरीमा फन्टुस विराला जाँड खाका बेला के के बोलियो के के त्यसको हिसाव हुन्छ ।

मातेका बेला भनेका कुरा पत्याउने तिमी कस्ता मूर्ख, लौ तिमी आफ्नो बाटो लाग, म आफ्नो बाटो लागें बाईबाई ।’ आखिर विरालो आफ्नो मूर्खताप्रति पछुताउँदै हिस्स बुढी, हरिया दाँतको पात्र बन्न पुग्यो ।

पँधेरे गफबाट माथि उठ्न नसकेका ती नेताहरुको अवस्था अहिले जाँडमा चोबलिएको त्यही मुसा जस्तो भएको छ । न अध्ययन, न आचरण, न इमान्दारी मान्छेभित्र हुनुपर्ने कुनै मानवीय गुणले तान्न नसकेपछि तिनीहरु तल्लो स्तरमा उत्रिएर एक अर्कालाई धारेहात लगाउन हानाथाप गरिरहेका छन् ।

कांग्रेस, एमाले, माओवादी केन्द्र हुँदै राष्ट्रिय प्रजातन्त्र पार्टीसम्मको हुँकार छ– आपूmलाई बहुमत दिए मात्र देश र जनताको कल्याण हुन्छ रे ! त्यो घमण्डभित्र देशभक्ति नभएर जागिरको लोभ छ । शायद राजनीतिलाई जागिरमा करार गरिने मुलुक यही नै पहिलो र अन्तिम हुनुपर्छ ।

होइन भने राजनीतिमा सवैभन्दा ठूलो कानुन इमान्दारी र निष्ठा हो । जुन देशको लोकतन्त्रमा तेस्रो दलले पहिलो र दोस्रो दललाई शासन गर्छ भने त्यो लोकतन्त्र र जग्गा दलालीमा एक इन्च फरक छैन् ।

‘लुटाहा पार्टीको पिलन्धरे गणेशमानले मेरो दारीका रौं जति पनि भोट ल्याउँदैन’ भनेर व्यक्तिवादी नीच राजनीतिमा उत्रिने केआईसिंह प्रवृत्ति ६ दशकपछि झन्झन् उत्ताउलोसंग प्रकट हुँदैछ ।

अब निष्ठावान र लोभ नभएको एउटा साहसी पुरुषको उदय देशमा नहुने हो भने पुरै देश जसलाई जे गर्न पनि स्वतन्त्र हुने रत्नपार्कजस्तो हुने पक्का छ ।

जनतालाई पार्टीका दासबाट स्निग्ध फटिकजस्तै बनाउनु पहिलो चुनौती र आवश्यकता बनेको छ । बोतलको पानी रित्याउने सुकुटी माछा हैन, प्रत्येकका हातमा माछा मार्ने जाल थमाउने राजनीति चाहिएको छ ।

संघीयता, जातजाति, भाषाभाषीका नारा कृष्णलीलाका बाल श्रीकृष्णले चन्द्रमा झारेर ल्याइदिने हठ गरेपछि आमा यशोदाले थालमा पानी भरेर चन्द्रमाको छायाँ धर्तीमा झारेर थुम्थुम्याएजस्तै चटक हो ।

व्यक्तिवादी सन्की र हठमा हरेक क्षेत्र थिलथिलो बनाउने संघीयता विरुद्ध जनमत सृष्टि नगर्ने हो भने दूधको लाम्टा चुसेर हाडछाला पारिएको तर स्याहार चाकर नगरिएको गाईको अवस्था देशले झेल्नुपर्ने पक्का छ ।

विरालो कुन रंगको छ भन्ने सवाल हैन, सवाल त विरालोले मुसा मार्छ कि मार्दैन भन्ने हो । उसको परिचय नै त्यही हो । नेपालमा मास्टर्स डिग्रीभन्दा खाडीको ५० डिग्रीको तापक्रम पोसाउने भएपछि यहाँ गरिने राजनीति नेताहरुको कुटिर उद्योग शिवाय केही होइन ।

भारु र दारु विनाको राजनीति के राजनीति अहिलेको सच्चाई यही हो । बीपी कोइरालाको दल यतिबेला सत्तामा छ । तात्कालिन अवस्थामा पञ्चायत विरुद्ध उनले बोलेका अभिव्यक्ति अहिले उनकै पार्टीमा सक्कल बम्मोजिम नक्कल देखिएको छ । वीपी भन्छन्– ‘अहिले जुन वर्ग उपस्थित छ, अहिले जुन वर्ग बन्या छ– त्यसलाई देशसंग कुनै किसिमको वास्ता छैन ।

सुखा भए तापनि उनीहरुको सम्पत्तिमा कुनै कमी हुँदैन । पानी पर्छ पर्दैन, नहर लाग्छ लाग्दैन तिनीहरुलाई कुनै वास्ता छैन । बजार डुबेर जाओस् या उद्योगधन्दाको विकास होस या नहोस, उनीहरुलाई कुनै फरक पर्दैन । उनीहरु त यहाँका सम्पदाहरुलाई नष्ट गरेर, प्राचीन कला कृति विदेश पठाएर, जंगल खाएर, अवैध धन्दा गरेर बसेका छन् । यही तत्व अहिले शासनको केन्द्रमा छ । यो राष्ट्रिय तत्व होइन, अराष्ट्रिय तत्व हो ।’

नेपालको राजनीति विवेक कम, निर्देशन ज्यादाबाट चल्ने गरेको छ । अहिले मात्र हैन, उहिल्यै देखि नै नेपालको राजनीतिमा तीर्थाटन गर्न आएको सामान्य मानिसदेखि हिमाल घुम्न आएको विदेशीले पनि खेल्ने गरेको तथ्य भेटिन्छ ।

जसको परिणाम गल्ती र कमजोरीको थाक यसरी लाग्दै गयो कि त्यो थाक राज्य सञ्चालनको अकाट्य नजिर बन्न पुग्यो । तीर्थाटनमा आएकी एउटी महिलासंग घरजम गर्न पदीय गरिमा र मर्यादासम्म दाउमा लाउन पछि नपर्ने रणबहादुर शाहले विरासतको रोलक्रम नै तहसनहस् बनाइदिए ।

कमजोरीलाई सच्याउने हैन, तासको किट्टी खेलका कप्टी खेलाडीजस्तो एक्का ट्रायल फोडेर अन्त्यमा एक्काजुट देखाएर अरुलाई विगार्ने अभ्यासमा पुरै राजनीति अभ्यस्त भयो ।

हरेक राजनीतिक प्राणी सत्तामा हुन्जेल गोलचक्करमा फस्ने, त्यहाँबाट झरेपछि जाँडको धङधङेले नछोडेको जँड्याहाजस्तो भएर जीवन गुजार्नेहरु थुप्रै छन् ।

यसैको परिणाम चटकमा मुलुक सिंगापुर बनाउनेदेखि लिएर स्याटेलाईटबाट बिजुली बत्ती बाल्नेहरु समेत देखा परे । यिनीहरुलाई के थाहा ? घोडाको सुन्दर तस्वीर बनाउनु र तबेलामा घोडा पाल्नु आकास पातालको अन्तर छ ।

यहाँको राजनीतिमा देखिने अनपेक्षित र अप्राकृतिक परिदृश्यका विषयमा बीपी अर्को ठाउँ लेख्छन्– ‘कति विद्यार्थी मरे, अपाङ्ग भए, थुनिए, यातना पाए । ती सबैले सूर्यबहादुरलाई ल्याउन गरेको म भन्दिनँ । तर त्यस्तो प्रमाणित हुन गयो ।

विद्यार्थी आन्दोलन चल्दछ– त्यसले गर्दा हामीलाई जनमत संग्रह प्राप्त भयो, यसो भयो, उसो भयो भनिन्छ । म त केवल समस्याको प्रकृतिलाई हेर्ने गर्दछु ।

म देख्छु, त्यसको सबभन्दा ठूलो प्राप्ति हो– सूर्यबहादुर थापा । त्यत्रो ठूलो आन्दोलनबाट त आन्दोलनकारी पो स्थापित हुनुपर्ने तर त्यहाँ तिनीहरु स्थापित भएनन ।

स्थापित को हुन्छ भने सूर्यबहादुर थापा । आन्दोलन हुन्छ भुट्टोलाई लिएर । तपाईंलाई थाहा छ ? हाम्रा मानिस मारिँदा आन्दोलन हुँदैन । त्यसभन्दा १५ दिन अगाडि यहीँका देशभक्तहरु मारिए, झुण्ड्याइए, गोलीका शिकार भए– यज्ञबहादुर थापा, भीमनारायण श्रेष्ठ । तिनीहरुका बारेमा केही हुँदैन । आन्दोलन भुट्टोका कारणबाट थालनी हुन्छ र अन्त्य हुन्छ– सूर्यबहादुर थापाको स्थापनामा ।

प्राविधिक ज्ञानका नाममा मोबाइल चलाउँदा हरियो थिचे बोल्छ, रातो थिचे काटिन्छ भन्ने फर्मूला बुझेका नेताहरुलाई कथाका रवाफी राजा अकबरलाई रेसमी लुगा लगाइदिएको भ्रममा नाङ्गो घुमाउने बीरबल क्षमता बोकेका थुप्रै वीरवलहरु अहिले गाउँमा जन्मिसके भन्ने बुझ्न जरुरी छ । त्यसैले त भनिन्छ– आशावादी मानिसले हवाइजहाज बनाउँछ, निराशावादी प्यारासुट बनाउँछ भने दुवै नगर्ने जमिनमा बसेर कुरा जोत्ने काम गर्छ ।

त्यसो त इतिहास साक्षी छ, हाम्रो राजनीतिक धरातल कहिल्यै मजबुत भएन् । राज्य सञ्चालकहरुले आफू उभिने पाइलो बाहेक अरुतिर ध्यानै पुर्याएनन् ।

राजनीतिशास्त्रले स्थापित गरेको जनता कहिल्यै गलत हुँदैन् भन्ने मान्यता नबाँचेको भए हाम्रोमा हुर्किएको राजनीतिभित्रको दलालीले घर खरानी बनाएर त्यसको टीका लगाउने बाहेक अरु सिर्जनशील सूत्र केही सिकाएन् । फलस्वरुप सिक्ने तर नसिकाउने अपराधको अर्को कडी राजनीति बन्नपुग्यो । अझ रोबर्ट राजनीति हाम्रो आदर्श बन्यो ।

कृष्णलाल अधिकारी मकैको खेती पुस्तक लेखेको अभियोगमा मारिए । आज पनि मकैमा खुम्ले लाग्छ । विज्ञले त्यसको ओखती बताउँछन् । तर सत्ता र शक्तिबाट अन्धो मानिस कति भयभीत हुँदोरहेछ भने खुम्ले र आफूमा अन्तर देख्दोरहेनछ ।

कृष्णलाल मारिएपनि उनको लेखनी सत्यबाट डगमगाएको छैन् । मकैको खेती पुस्तकको भूमिकामा भनिएको छ– …. सरकारले आफ्ना देशका कुकुरहरु भन्दा विदेशी कुकुरहरुको बढ्ता मान गर्छ तर चोर डाकाहरुबाट हाम्रो रक्षा गर्ने बखत गद्दामा सुत्ने विदेशी कुकुरहरु काम लाग्दैनन् । स्वदेशी कुकुरहरु नै काम लाग्छन् ।’

नेताहरु थुन्ने पनि अरु नै, छुटाउने पनि अरु नै । कुर्सीमा आसिन गराउने पनि अरु, खँदार्ने पनि अरु नै । शायद मर्दहरु नामर्दको सुरक्षामा बसेपछि यस्तै हुन्छ । कसैप्रतिको आग्रह, पूर्वाग्रह होइन । इतिहास साक्षी छ ।

२००४ सालमा नागरिक स्वतन्त्रताको माग गर्दै आन्दोलन चर्किदो थियो । नजरबन्दमा रहेका बीपी कोइरालाको स्वास्थ्य स्थिति गम्भीर बन्दै गएको थियो ।

भारतीय नेताहरु महात्मा गान्धी, डा. राममनोहर लोहिया, डा. राजेन्द्रप्रसाद, डा. श्यामप्रसाद मुखर्जीहरुले मानवताको नाताले रिहाईको माग गर्दै नेपाल सरकारलाई चिट्ठी लेखेका थिए । पद्मशम्शेरका नाममा लोहियाले लेखेको पत्रमा भनिएको छ– ‘श्रीकृष्णप्रसाद उपाध्याय महात्मा गान्धी र मेरो पत्र लिएर तपाईलाई भेट्न आउँदैछन् ।

श्री विश्वेश्वर प्रसाद कोइरालाको अवस्था मरणासन्न अवस्थामा पुगेको यहाँ सुन्नमा आएको छ । उनलाई बम्बई ल्याउन सके एकपटक बचाउने कोशिस गर्न सकिन्थ्यो ।

मलाई विश्वास छ यी युवकको मृत्युबाट हामी सवैलाई ठूलो क्षति हुन्छ । यिनलाई जेलमुक्त गरेमात्र बचाउने थोरै आशा बाँकी रहन्छ । विश्वेश्वरको रिहाई नेपाल भारत दुवैका लागि कल्याणकारी हुन्छ ।

आशा छ– तपाईंको तर्फबाट मानवीय कर्म हुनेछ ।’ यता पद्यशम्शेरले पनि प्रजातन्त्रको माग गर्दै सत्याग्रहमा उत्रिएकाहरुको माग सम्बोधन गर्नकै लागि नेहरुसंग आग्रह गरेका थिए । सोही प्रयोजनका लागि नेहरुले आफ्ना अत्यन्तै निकट श्रीप्रकाशजीको नेतृत्वमा रघुनाथसिंह, रामउग्रसिंहजस्ता कानुनविद् नेपाल पठाइदिए । आन्दोलन भइरहेकै अवस्थामा मातृकाप्रसाद कोइराला र गणेशमानसिंह नेहरुलाई भेट्न गए ।

नेहरुले भनेका थिए– तपाईंहरु के का आधारमा विवरण दिनुहुन्छ थाहा छैन मलाई । मैले पनि आप्mना चारजना प्रतिनिधिहरु पठाएँ । जसमध्ये दुईजना विश्वासपात्र र भरपर्दो चरित्रका थिए । तिनीहरुले त तपाईंहरुले भन्दा बिल्कुलै अर्कै प्रकारका खबर ल्याए ।

तपाईंहरुले एक्कैचोटि धेरै आशा गर्नुहुन्न । तिनीहरुले महाराजलाई एकान्तमै भेटेका थिए । महाराजको भनाइ छ– ‘सुधारको प्रगति आन्दोलनले गर्दा पछाडि घचेटिएको हो ।’ दोहोरो चरित्रको यस्तो कुटिल राजनीति अहिले झन् पेचिलो बन्दै गएको छ । पहिला त कम्तिमा संवाद हुन्थ्यो, अहिले त इसारामा काम तमाम् हुन्छ ।

छिमेकी देशको मात्र होइन, बेलायत पुगेर आएपछि महत्वाकांक्षी बनेका जंगबहादुरले केही साँच्चै ऐतिहासिक काम गरे । गोराहरुको ढाड्स पाएका जंगबहादुरले पहिले आपूmलाई राणाजी बनाए ।

आफ्ना भाइभारदारलाई शक्तिकेन्द्रमा पुर्याए । आफ्ना भाइहरुको विवाह राजा खलक मात्र बनाएनन, श्री ३ घोषणा गरेर राजपाटमा दख्खल दिए । यसखाले व्यक्ति केन्द्रित राजनीतिले केही समयका लागि व्यक्ति शक्तिशाली देखिएपनि राज्य झन्झन् कमजोर बन्ने रहेछ ।

प्रकाशित मिति: १९ फाल्गुन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्