पाँच बालबालिका जन्मँदै एचआइभी एड्स सङ्क्रमित


 


रोल्पा , फागुन १९

रोल्पामा पाँच बालबालिका जन्मँदै एचआइभी एड्स सङ्क्रमित भएका छन् ।  प्रवासी बाबु तथा घरमा रहेकी आमाबाट जन्मेका निर्धोष पाँच बालबालिका एचआइभी एड्स सङ्क्रमित भएर जीवन जीउँदै आएको रोल्पा प्लसका अध्यक्ष राधा विकले जानकारी दिए उनका अनुसार वैदेशिक रोजगारीका शिलशिलामा विभिन्न मुलुकमा पुगेका युवा एचआइभी एड्स सङ्क्रमित भएर स्वदेश फर्किसकेपछि उनीहरुबाट जन्मेका बालबालिका एचआइभी एड्स सङ्क्रमित भएका हुन् ।

यसरी सङ्क्रमित बाबुआमाबाट जन्मेका बालबालिकाले निरन्तर औषधि सेवन गरिरहेका छन् । समाजले अपहेलना गर्ने डरले यी सबै बालबालिका आफूलाई एड्स सङ्क्रमण भएको कुरा खुलासा गर्न चाहँदैनन् । एकातिर बिरामी पर्नु, अशक्त हुनु,  अर्कातिर समाजले घृणा गर्ने डरले यी बालबालिकाको बाल मस्तिष्कमा नकारात्मक असर पर्न थालेको छ ।

यसरी एचआइभी एड्स सङ्क्रमित हुने बालबालिकामा पूर्वि रोल्पाकी १४ वर्षीया बालिका आशमती कुसुम (नामपरिवर्तन) रहेकी छिन् । वैदेशिक रोजगारीका लागि भारतको चण्डीगढ पुगेका उनका बुबा एचआइभी एड्स सङ्क्रमित भएर करिब १५ वर्ष पहिले स्वदेश फर्कनुभएको थियो । आफू सङ्क्रमित भएको कुरा श्रीमतीलाई जानकारी नदिएका कारण उहाँकी श्रीमती पनि सङ्क्रमित हुनुभयो । सङ्क्रमित बाबुआमाबाट जन्मेको हुँदा उनी जन्मँदै एड्स सङ्क्रमित भएर जन्मेकी हुन् ।

हाल आसमतीका बुबाआमा दुवैको मृत्यु भइसकेको छ । उनी हजुरबुबा र हजुरआमासँग घरमा बस्दै आएकी छिन् । श्रीमान्÷श्रीमती दुवैको एड्स सङ्क्रमणका कारण मृत्यु भएपछि गाउँलेले आसमतीलाई पनि एचआइभी एड्स सङ्क्रमण भएको हुन सक्ने भन्दै चेकजाँच गराउने क्रममा केही वर्ष पहिले आसमतीमा पनि एड्स सङ्क्रमण देखिएको हो । हाल उनी गाउँकै विद्यायलमा कक्षा ३ मा पढ्दै छिन् । पटक पटक बिरामी पर्ने गरेको हुँदा उनको पढाइले तीव्रता पाउन सकिरहेको छैन ।

यस्तै उत्तर पूर्वि रोल्पामा पनि ८ र १२ वर्षका दुई दिदीबहिनी एड्स सङ्क्रमित भएर बाँचिरहेका छन् । उनीहरु पनि सङ्क्रमित बाबुआमाबाट जन्मेका हुँदा जन्मँदै एड्स सङ्क्रमित भएका थिए । रोजगारीका लागि भारतको बम्बै पुगेका उनीहरुका बुबा एक होटेलमा काम गर्थे  । उनि पनि भारतमा काम गर्ने क्रममा एचआइभी एड्स सङ्क्रमित भए ।

घरमा आएका बेला श्रीमतीलाई आफू सङ्क्रमित भएको कुरा जानकारी नदिएको हुँदा उहाँका कारण उहाँकी श्रीमती पनि एड्स सङ्क्रमित हुनुभएको हो । करिब तीन वर्ष निरन्तर बिरामी परेपछि उहाँको मृत्यु भइसकेको छ भने उहाँकी श्रीमती र दुई छोरी पनि एड्स सङ्क्रमित भएर बाँच्न बाध्य भएका छन् ।

श्रीमान्को मृत्युपछि तीन आमाछोरी लगातार बिरामी पर्न थालेपछि रगत जाँच गर्ने क्रममा उनीहरु एड्स सङ्क्रमित भएको थाहा पाएका थिए । ती बालिका गाउँकै विद्यालयमा क्रमशः ३ र ४ कक्षामा पढ्दै आएका छन् । सुखी जीवन बिताउने सपना देखाएर धन कमाउन विदेश गएका श्रीमान्को एचआइभी एड्स सङ्क्रमणका कारण मृत्युमात्र भएन बाँचेको परिवार पनि एड्स सङ्क्रमित हुँदा उनीहरुलाई जीवन चलाउन हम्मेहम्मे परेको छ । काम गरिखाने हातपाखुरा भए पनि सङ्क्रमणका कारण तागत नचल्ने उनीहरुले बताए । ती बालिकाको परिवारले हाल सहकारीबाट पाएको सानो ऋणबाट गाउँमै सानो पसल चलाएर गुजारा गर्दै आएका छन् ।

यसैगरी दक्षिण रोल्पाकी रामप्यारी शीतल (नामपरिवर्तन) पनि एचआइभी एड्स सङ्क्रमित भएर जीवन जिउँदै आएकी छिन् । हाल उनी १८ वर्ष पुगिसकेकी छिन् भने उनले गत वर्ष एसएलसी परीक्षासमेत उत्तीर्ण गरिसकेकी छिन् । रामप्यारीका बुबा पनि १६÷१७ वर्षको उमेरदेखि रोजगारीका लागि भारतका विभिन्न स्थानमा पुगिसक्नुभएको थियो पेसाले उहाँ गाडी चलाउनुहुन्थ्यो । उनले पनि आफू एचआइभी एड्स सङ्क्रमित भएको कुरा श्रीमतीलाई जानकारी दिनुभएन । घरमा फर्केका बेला श्रीमतीको गर्भ रह्यो । सो गर्भबाट जन्मेको सन्तान जन्मँदै एड्स सङ्क्रमित भयो । रामप्यारी आज त्यसकै सिकार बनेर बाँच्न बाध्य छिन् ।

यस्तै उत्तर पूर्वि रोल्पाका १७ वर्षीय अशेष राहत (नाम परिवर्तन) पनि एचआइभी एड्स सङ्क्रमित बाबुआमाबाट जन्मेका कारण सङ्क्रमित भएर बाँचिरहेका छन् । परिवारलाई सुखसँग राख्ने आश्वासन दिएर भारतको चण्डीगढ पुगेका उनका बुबा भारतमा ज्याला मजदुरी गर्थे । उनि पनि सङ्क्रमित भएर स्वदेश पर्के तर आफू सङ्क्रमित भएको कुरा कसैलाई भनेनन । जसका कारण श्रीमान् श्रीमती दुवैमा एचआइभी एड्सले आक्रमण ग¥यो । दुवैजना लगातार बिरामी पर्न थालेपछि चेकजाँचका क्रममा श्रीमान्÷श्रीमती र छोरामा समेत एचआइभी एड्स सङ्क्रमण देखियो । हाल परिवारका तीनैजनाले निरन्तर औषधि सेवन गरिरहेका छन् ।

आर्थिक तथा भौगोलिक रुपमा पछाडि परेको रोल्पा १० वर्षे सशस्त्र युद्धका कारण विकासका क्षेत्रमा अझ धेरै पछि धकेलिएको छ । त्यसैले हरेक क्षेत्रबाट पछाडि पारिएका यी पाँच निर्दोश बालबालिकाको उज्ज्वल भविष्यका लागि सरकारी तथा गैरसरकारी निकायको ध्यान जान सकेमात्र यी बालबालिकाले न्याय पाउनेछन् भन्ने कुरामा दुईमत नहोला ।

रोल्पा प्लसका अध्यक्ष राधा विकका अनुसार रोल्पामा हालसम्म एचआइभी एड्स सङ्क्रमितको सङ्ख्या ६० पुगिसकेको छ । समाजले एचआइभी एड्स सङ्क्रमितलाई नबुझेका कारण केही सङ्क्रमित जिल्ला छोडेर बाहिरिन बाध्य भएका छन् ।  पहिलेको तुलनामा एड्स सङ्क्रमितलाई गर्ने व्यवहारमा केही परिवर्तन आए पनि पूर्णरुपमा परिवर्तन हुन सकिरहेको छैन ।

प्रकाशित मिति: १९ फाल्गुन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्