बालकको हत्या


 


धनुषा, फागुन १९

धनुषाको पटेर्वा–१ बस्ने राजाराम यादवका सात वर्षीय छोरा रुपेश यादवको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले दिएको जानकारीअनुसार गत सोमबारदेखि बेपत्ता बालकको शव बुधबार साँझ घरनजिकैको गहुँखेतमा हत्या गरेर फालिएको अवस्थामा फेलापरेको छ ।

घाँटीमा लगाएको मालाले नै बालकको घाँटी थिचेर हत्या गरिएको हुनसक्ने आशंका प्रहरीले गरेको छ । बालकका काका रामनाथ यादवकाअनुसार गत सोमबार घरनजिकै छिमेकीको घरमा भोज खान भनेर गएकोबेलादेखि भतिजा रुपेश बेपत्ता भएका थिए ।

भोज खाएर रुपेश आफू पढ्ने जनज्योति बोर्डिङ स्कुलमा पढ्न गएको आफूहरुलाई लागे पनि अबेर साँझसम्म घर नआउँदा खोजतलास सुरु गरिएको यादवले बताए । सोमबार साँझदेखि खोजतलास गर्दा बालक नभेटिएपछि मंगलबार घर–परिवारले इप्रका सवैलामा निवेदन दिएका थिए ।

खोजतलासकाक्रममा बुधबार साँझ घरनजिकैको गहुँखेतमा बालकको हत्या भएको अवस्थामा शव फेलापरेको घर–परिवारले जनाएको छ । भोज खाएर हात धुनेबेला नै भतिज रुपेशलाई अपहरण गरी हत्या गरेको हुनसक्ने काका रामनाथको भनाइ छ ।

उनकाअनुसार करिब एक महिनाअघि खेल्नेक्रममा भतिज रुपेश र छिमेकी सिरिया मुखियाका नातिसँग बच्चा–बच्चामा झगडा भएको थियो । त्यस घटनाको एक महिनापश्चात् बालकको हत्या भएकाले सिरिया मुखियाकै परिवारले अपहरण गरेको हुनसक्ने रुपेशका परिवारको आशंका छ ।

बुधबार बिहान सिरिया मुखिया र उनकी श्रीमती इमिरादेवी मुखिया घरबाट भाग्न खोजेपछि स्थानीयवासीले पक्राउ गरी इलाका प्रहरी कार्यालयलाई जिम्मा लगाएको केही समयपश्चात् बुधबार साँझ नै रुपेशको हत्या भएको अवस्थामा शव फेलापरेको प्रहरीले जनाएको छ ।

प्रहरीले सिरिया मुखियासँगै स्थानीय महेश यादवलाईसमेत नियन्त्रणमा लिएर तीनैजनामाथि अनुसन्धान गरिरहेको सवैला इलाका प्रहरीका सई टेकबहादुर ढकालले जानकारी दिए । बालकको शव परीक्षणका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिप्रका धनुषाले जनाएको छ ।

प्रकाशित मिति: १९ फाल्गुन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्