युगाण्डामाथि नेपालको रोमाञ्चक जित
काठमाडौं । युगाण्डामा जारी महिला टी–२० सिरिजमा नेपालले पहिलो जित निकालेको छ ।
प्रतियोगिताको आफ्नो दोस्रो खेलमा नेपालले घरेलु टोली युगाण्डालाई १ विकेटले हराएको हो । युगाण्डाले दिएको ७६ रनको लक्ष्य नेपालले १ बल बाँकी छँदा ९ विकेटको क्षतिमा पूरा गर्यो ।
नेपालका लागि सना प्रवीनले १७ तथा पुजा महतोले १६ रन बनाइन् । अन्तिम ओभरमा ६ रन आवश्यक रहँदा रिया शर्मा र ईश्वरी विष्टले रन जोड्दै जित दिलाए।
युगाण्डाका लागि कप्तान जानेत बाबजीले ४ ओभरमा १८ रन दिएर ३ विकेट लिइन् भने सारा वालाजाले २ विकेट लिइन् ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युगाण्डाले नेपालसामू ७६ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
युगाण्डाले २० ओभरमा ७ विकेट गुमाएर ७५ रन बनाएको हो । नेपालका लागि पुजा महतोले ४ ओभरमा १४ रन दिएर ३ विकेट लिइन् ।
कप्तान इन्दु बर्माले ४ ओभरमा ८ रन दिएर २ विकेट लिइन् । यसअघि शनिबार भएको पहिलो खेलमा नेपाल नामिबियासँग पराजित भएको थियो ।
प्रकाशित मिति: २५ फाल्गुन २०८१, आइतबार
















