निक्कीले यसरी सम्झियो संस्थापक अध्यक्ष प्रभाकर राणालाई
काठमाडौं । नेपाल भारत उद्योग वाणिज्य संघ (निक्की) ले स्थापनाको ३०औँ वर्षको अवसर पारेर आइतबार संस्थापक अध्यक्ष प्रभाकर शमशेर जबराको स्मृतिमा अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ। कार्यक्रममा संस्थापक अध्यक्ष स्व. राणाको योगदान र व्यक्तित्व स्मरण गरिएको थियो ।
काठमाडौंको याक एण्ड यती होटलमा आयोजित ‘प्रथम प्रभाकर एसजेबी राणा मेमोरियल लेक्चर : लिडरसिप, भिजन एन्ड लेगेसी’ नामक कार्यक्रममा बोल्ने वक्ताहरूले उनी देशकै अग्रणी र दूरदर्शी व्यवसायी मात्र नभई स्वस्थ रूपमा पनि उद्यम गर्न सम्भव रहेको मान्यता स्थापित गर्ने व्यक्तित्व रहेको बताए । निक्कीले अब हरेक दुई वर्षमा यो कार्यक्रम गर्ने पनि जनाएको छ ।
अर्थतन्त्र र राष्ट्रका लागि स्वर्गीय राणाको विरासत र योगदानको सम्मानस्वरुप निक्कीले नेतृत्व, दृष्टिकोण र विरासतबारे अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको जनाएको छ ।
कार्यक्रममा निक्कीका अध्यक्ष सुनिल केसीले स्वर्गीय राणाले राष्ट्र र अर्थतन्त्रका लागि गरेको योगदानको कदरस्वरुप कार्यक्रम गरेको जानकारी दिए। उनले भने–‘निक्की राणालाई एक भिजन भएका नेता, उद्यमीको रुपमा सम्झिन पाउँदा गौरवान्वित छ । नेपालको सबैखाले व्यवसाय, आतिथ्य क्षेत्र, उद्योगहरु र जलविद्युतका क्षेत्रमा उहाँको योगदान छ।’
स्वर्गीय राणा निक्कीका संस्थापक अध्यक्ष समेत हुन्। उनले निक्कीको मात्र स्थापना नगरी अरु धेरै व्यवसाय र सामाजिक संस्थाहरु होटल संघ नेपाल (हान), स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान), पाटा नेपाल च्याप्टर र नेपाल हेरिटेज सोसाइटीको समेत स्थापना गरेका थिए।
संघकी निवर्तमान अध्यक्ष सिर्जना राणाले स्व. राणा देशकै अग्रणी तथा दूरदर्शी व्यवसायी रहेको बताइन् । प्रमुख वक्ता अन्तर्राष्ट्रिय मुद्रा कोषका कार्यकारी निर्देशक डा. कृष्णमूर्ति भेन्कटा सुब्रमन्यनले समावेशी विकास कठिन कार्य रहेको, तर भारतले पछिल्लो समयमा समावेशी रूपमा विकास हासिल गरिरहेको बताए ।
नेपालका लागि भारतीय राजदूतावासका डेपुटी चिफ अफ मिसन प्रसन्न श्रीवास्तवले नेपाल र भारतबिचको व्यापार बढोत्तरीमा संघले निर्वाह गरेको भूमिका सराहनीय रहेको बताए ।
प्रकाशित मिति: २६ फाल्गुन २०८१, सोमबार
















