यातायात व्यवस्था कार्यालय डुम्रेलाई साढे दुई करोड बराबरको जग्गा




दमौली तनहुँ, ५ चैत । तनहुँको बन्दीपुर गाउँपालिका–१ निवासी कृष्ण अधिकारीले यातायात व्यवस्था कार्यालय डुम्रेको भवन निर्माणका लागि करिब साढे दुई करोड मूल्य बराबरको जग्गा निःशुल्क दान गर्नुभएको छ ।

अधिकारीले आज मालपोत कार्यालय तनहुँबाट पाँच रोपनी जग्गा यातायात व्यवस्था कार्यालयका नाममा नामसारी गरिदिनुभएको हो । हाल भाडामा सञ्चालन हुँदै आएको कार्यालयको भवन निर्माणका लागि जग्गा खोजी गरिएकामा अधिकारीले कार्यालयलाई जग्गा दान गर्नुभएको हो । 

उक्त जग्गाको हालको मूल्य साढे दुई करोड बराबर रहेको वडाध्यक्ष शिवकुमार श्रेष्ठले जानकारी दिनुभयो । यसअघि उहाँले वडा कार्यालय भवन निर्माणका लागि चार आना जग्गा दान गर्नुभएको थियो । 

अधिकारीका दुई छोरा राजेन्द्र र रविन्द्र अधिकारी चितवनमा व्यापार व्यवसाय गर्नुहुन्छ । कार्यालयको भवन निर्माणका लागि राजीखुसीले जग्गा पास गरिदिएको अधिकारीले बताउनुभयो । 

यातायात व्यवस्था कार्यालय डुम्रेका प्रमुख गोपाल ओलीले कार्यालयका लागि जग्गा प्राप्ति भएसँगै अब थप प्रक्रिया अगाडि बढ्ने बताउनुभयो । हाल कार्यालय बन्दीपुर गाउँपालिका–४ विमलनगरमा एक घरमा भाडामा सञ्चालन हुँदै आएको छ । अब उक्त जग्गामा कार्यालय भवन निर्माण भएसँगै सहज हुने उहाँको भनाइ छ । 

व्यक्तिको घरमा कार्यालय सञ्चालन गर्दा लाखौँ रकम खर्च हुने गरेकाले आफ्नै भवन निर्माण गरी सेवा दिने ओलीको भनाइ छ । 

यातायात व्यवस्था कार्यालयको भवन निर्माणका लागि जग्गा खोजी गर्न बन्दीपुर गाउँपालिकाले घनश्याम श्रेष्ठको संयोजकत्वमा जग्गा खोज समिति गठन गरेको थियो । 

विसं २०७८ फागुन २७ गते स्थापना भएको यातायात कार्यालयमा दरबन्दीअनुसार कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको छ । दरबन्दीअनुसारका कर्मचारीको अभाव, करारका कर्मचारीका भरमा कार्यालय सञ्चालन गर्नुपर्दा समस्या हुने गरेको जनाइएको छ ।

कार्यालयले विसं २०७९ कात्तिकबाट सवारी चालक अनुमतिपत्रको ट्रायल जिल्लाबाटै सुरू गरेको थियो । त्यसअघि ट्रायलका लागि पोखरा जानुपथ्र्यो । कार्यालयले सोही वर्षको साउन १५ गतेदेखि सवारी चालक अनुमतिपत्र ९लाइसेन्स० नवीकरण सुरू गरेको थियो । कार्यालयमा सवारी साधन दर्ता समेत हुन्छ । यसले गर्दा तनहुँ मात्र नभई गोरखा, लमजुङका सर्वसाधारणलाई पनि सहज भइरहेको छ । 

विसं २०७१ देखि यातायात व्यवस्था सेवा कार्यालयका रूपमा काम गर्दै आइरहेको कार्यालय विसं २०७८ फागुन २७ गते यातायात व्यवस्था कार्यालयका रूपमा स्थापना भएको हो । सेवा कार्यालयका रूपमा रहँदा सवारीसाधन कर सङ्कलन, रूटपरमिट, जाँचपाससम्बन्धी काम गर्दै आएको कार्यालयले हाल सवारी चालक अनुमतिपत्र वितरण, नवीकरण र सवारी साधन दर्ता, नामसारी सेवा दिँदै आएको छ । 

प्रकाशित मिति: ४ चैत्र २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्