१५ गतेभित्र मल आपूर्ति सहज हुने : कृषि मन्त्री चौधरी



ढल्केबर, ९ साउन । कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले रासायनिक मलको आपूर्ति क्रमशः सहज हुँदै गएको बताएकी छन्।

धनुषामा सञ्चालित राष्ट्रिय कृषि आधुनिकीकरण आयोजनाहरूको निरीक्षणका क्रममा उनले अन्तर्राष्ट्रिय परिस्थितिका कारण यस वर्ष मल आपूर्तिमा केही असर परे पनि हाल विभिन्न नाकाबाट पर्याप्त मात्रामा रासायनिक मल नेपाल भित्रिरहेको बताइन्। मौज्दात रहेको मल किसानसम्म पुर्‍याउने काम भइरहेको उल्लेख गर्दै उनले साउन १५ गतेभित्र मल आपूर्ति धेरै सहज हुने जानकारी दिइन्।

लक्ष्मिनियामा किसानसँगको अन्तरक्रिया कार्यक्रममा मन्त्री चौधरीले रासायनिक मल तथा विषादीमा निर्भरता घटाउँदै प्राङ्गारिक मलको प्रयोग बढाउनुपर्नेमा जोड दिइन्। माटोको उर्वराशक्ति, वातावरण र मानव स्वास्थ्य जोगाउन प्राङ्गारिक खेतीलाई अभियानकै रूपमा अघि बढाउन आवश्यक रहेको उनको भनाइ थियो।

“हामीले खाने अन्नसँगै विषादी पनि खाइरहेका छौँ। त्यसैले रासायनिक मलको प्रयोग कम गर्दै प्राङ्गारिक मलतर्फ किसानलाई आकर्षित गर्न अभियान चलाउन आवश्यक छ,” उनले भनिन्।

किसानले प्राङ्गारिक खेती विस्तार गर्न चाहे सरकारले आवश्यक सहयोग गर्न तयार रहेको बताउँदै उनले राष्ट्रिय कृषि आधुनिकीकरण आयोजना, प्रदेश सरकार तथा अन्य निकायसँग समन्वय गरी कार्यक्रम सञ्चालन गरिने जानकारी दिइन्।

मन्त्री चौधरीले सिँचाइ र कृषि कार्यक्रमलाई एकीकृत रूपमा सञ्चालन गर्ने तयारी भइरहेको पनि बताइन्। उनका अनुसार जहाँ सिँचाइ आयोजना सञ्चालन हुन्छ, त्यहाँ कृषि मन्त्रालयको प्राविधिक सेवा पनि सँगै उपलब्ध गराउने योजना बनाइएको छ।

उनले धनुषाको लक्ष्मिनियामा सञ्चालित कृषि यान्त्रीकीकरण तथा सिँचाइ पूर्वाधार, मिथिला नगरपालिकास्थित कृषि यान्त्रीकीकरण प्रवर्द्धन केन्द्र, गणेशमान चारनाथ नगरपालिकाको व्यावसायिक आँप खेती तथा छिरेश्वरनाथ नगरपालिकाको व्यावसायिक मत्स्यपालन फार्मको निरीक्षण गरेकी थिइन्।

प्रकाशित मिति: ९ श्रावण २०८३, शनिबार