अभौतिक सांस्कृतिक सम्पदा संरक्षणमा विधेयक महत्वपूर्ण हुने : सभामुख अर्याल
काठमाडौँ, ९ साउन । सभामुख डोलप्रसाद अर्यालले ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१’ ले नेपालको अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण, संवर्द्धन, विकास तथा पुस्तान्तरणका लागि कानुनी आधार प्रदान गर्ने बताएका छन्।
छिन्नलता गीत पुरस्कार गुठीद्वारा आयोजित ४४औँ छिन्नलता गीत पुरस्कार समर्पण समारोहमा उनले उक्त विधेयकमार्फत विभिन्न जाति, भाषा, धर्म, संस्कृति र समुदायका मौलिक परम्परा, ज्ञान, सीप, कला तथा सांस्कृतिक अभिव्यक्तिको संरक्षण, अभिलेखीकरण र प्रवर्द्धन हुने विश्वास व्यक्त गरे।
अर्यालले विधेयकमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सूचीकरण, समुदायको सहभागिता, संघ, प्रदेश र स्थानीय तहबीच समन्वय, अनुसन्धान तथा डिजिटल अभिलेखीकरणका प्रावधान समावेश गरिएको बताए।
संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा छलफलका क्रममा रहेको विधेयकमा सांस्कृतिक सम्पदाको व्यावसायिक प्रयोग गर्दा सम्बन्धित समुदायको हित संरक्षण, उल्लंघनमा कानुनी कारबाही तथा दण्ड–जरिवानाको व्यवस्था गरिएको उनले उल्लेख गरे।
उनले विधेयकले लोपोन्मुख सम्पदाको संरक्षण, सांस्कृतिक पहिचानको सुदृढीकरण, युनेस्को सूचीकरणको आधार निर्माण तथा सांस्कृतिक पर्यटन र रोजगारी प्रवर्द्धनमा योगदान पुग्ने अपेक्षा व्यक्त गरे।
सभामुख अर्यालले कलाकार र स्रष्टाको योगदानलाई सम्मान गर्ने वातावरण निर्माण गर्नु राज्य र समाज दुवैको साझा दायित्व भएको बताए। नयाँ पुस्तामा नेपाली भाषा, मौलिक संस्कृति, संगीत र सिर्जनाप्रति रुचि जगाउनु आजको आवश्यकता रहेको उनको भनाइ थियो।
कार्यक्रममा सभामुख अर्यालले वरिष्ठ हास्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठ, गीतकार डा. नवराज लम्साल, संगीतकार किरण कँडेल, गायिका विमला राई तथा सारिका घिमिरेलाई पुरस्कार प्रदान गरेका थिए।
प्रकाशित मिति: ९ श्रावण २०८३, शनिबार







