वीरगञ्ज नाकाबाट एक वर्षमा २ खर्ब ३८ अर्ब रुपैयाँभन्दा बढीको इन्धन आयात



वीरगञ्ज । देशको प्रमुख भन्सार नाका वीरगञ्जबाट आर्थिक वर्ष २०८२/८३ मा २ खर्ब ३८ अर्ब ५६ करोड रुपैयाँ बराबरको इन्धन आयात भएको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४६ अर्ब ६३ करोड रुपैयाँ बढी हो।

भन्सार तथ्याङ्कअनुसार आर्थिक वर्ष २०८१/८२ मा वीरगञ्ज नाकाबाट १ खर्ब ९१ अर्ब ९३ करोड रुपैयाँ बराबरको इन्धन आयात भएको थियो।

वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीका अनुसार गत आर्थिक वर्षमा १ खर्ब ३२ अर्ब ३४ करोड रुपैयाँ बराबरको डिजेल र ४७ अर्ब ३५ करोड रुपैयाँ बराबरको पेट्रोल आयात गरिएको छ।

त्यस्तै, सो अवधिमा ३३ अर्ब ४२ करोड रुपैयाँ बराबरको खाना पकाउने एलपी ग्यास, २३ अर्ब ६२ करोड रुपैयाँ बराबरको हवाई इन्धन तथा ३७ करोड रुपैयाँ बराबरको मट्टितेल आयात भएको छ।

भन्सार तथ्याङ्कले गत वर्षको तुलनामा एलपी ग्यासको आयात भने घटेको देखाएको छ। आर्थिक वर्ष २०८२/८३ मा २ अर्ब ८५ करोड रुपैयाँ बराबरको एलपी ग्यास कम आयात भएको हो। अघिल्लो आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट ३६ अर्ब ३७ करोड रुपैयाँ बराबरको एलपी ग्यास आयात भएको थियो।

इन्धन आयातबाट मात्रै आर्थिक वर्ष २०८२/८३ मा वीरगञ्ज भन्सार कार्यालयले ८० अर्ब ६८ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको प्रमुख भन्सार प्रशासक मैनालीले बताए।

प्रकाशित मिति: ९ श्रावण २०८३, शनिबार