भक्तपुरमा एक पुरुषको शव भेटियो, हत्याको आशंका
काठमाडौं । भक्तपुरमा एक जना पुरूष मृत भेटिएका छन्। मध्यपुर ठिमी नगरपालिका ९ बोडे निलबाराहीस्थित पिकनिक स्पटको पार्किङमा एक जना पुरूष मृत फेला परेको हो ।
खोटाङ केपिलासगढी गाउँपालिका-२ घर भई बोडे बस्ने ६६ वर्षीय ओमप्रकाश राईको शव फेला परेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
उनी कवाडी सामान टिप्ने काम गर्थे। प्रहरीका अनुसार घटना शंकास्पद छ। राईको कानको छेउ र टाउकोमा चोट देखिएको छ।
घटनास्थल नजिकैबाट रगत लागेको ढुंगा बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले घटनामा संलग्न कसैलाई पक्राउ गरिसकेको भने छैन।
घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।
प्रकाशित मिति: ९ चैत्र २०८१, आइतबार
















