गर्भवती पत्नीलाई घुम्न जाऔँ भनेर घाँटी थिचि हत्या, डोजरले शव खाल्डोमा गाडे !
विराटनगर । श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
इलामको फाकफोकथुम गाउँपालिकामा गर्भवती श्रीमतीको हत्या गरेको अभियोगमा फाकफोकथुम गाउँपालिका वडा नं ३ सल्लेरीका २५ वर्षीय श्रीमान् उमेश गिरीलाई प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार उनले श्रीमती हराएको भन्दै चैत्र १ गते प्रहरी चौकी आमचोकमा निवेदन दिएका थिए । उनले १९ वर्षीया श्रीमती विमला कट्टेल हराएको निवेदन दिएपछि प्रहरीले खोजतलास गरेको थियो ।
अनुसन्धानका क्रममा श्रीमान् माथि नै शंका लागेपछि प्रहरीले अनुसन्धानको दायरा श्रीमान् तिर केन्द्रित गरेको थियो । विमला हराएको घटनाको अनुसन्धानक्रममा प्रहरीले उमेशलाई केही दिनअघि नै नियन्त्रणमा लिइसकेको थियो।
र, विमलाको शव बिच सडकमा गाडिएको पनि उमेशले नै देखाएपछि घटनाको रहस्य खुलेको हो । अनुसन्धानका क्रममा गिरीले फागुन २९ गते श्रीमतीको हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।
गिरी एक्साभेटर चालक रहेको र घुम्न जाउँ भनी श्रीमतीको हत्या गरेर एक्साभेटरले खनेर गाडेको अनुसन्धानका क्रममा खुलेको छ । गिरीले गर्भवती श्रीमतीलाई घुम्न जाऔँ भनेर धार्नेखोप पुर्याई, मुक्का प्रहार गरी लडाएर घाँटी थिचेर हत्या गरेपछि एक्स्काभेटरले नै खाल्डो खनेर शव गाडेका थिए ।
विमलाको शव पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। पक्राउ परेका गिरीलाई कर्तव्य ज्यान सम्बन्धी कसुरमा जिल्ला अदालतबाट ७ दिनको म्याद थप भएको छ ।
प्रकाशित मिति: १७ चैत्र २०८१, सोमबार
















