अमेरिकी डलरको प्रलोभन देखाएर लाखौँ ठगी गर्ने आरोपमा एक पक्राउ



बनेपा, १० साउन । अमेरिकी डलरको प्रलोभन देखाई सर्वसाधारणबाट लाखौँ रुपैयाँ ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ निवासी २६ वर्षीय सुनिल डुम्जनलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको जनाएको छ। उनीमाथि विभिन्न स्थानमा अमेरिकी डलर देखाएर नेपाली रकम ठगी गरेको आरोप लागेको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रविन विष्टका अनुसार घटनामा संलग्न चार जनाको समूह पहिचान भएको छ। तीमध्ये सुनिल पक्राउ परिसकेका छन् भने अन्य व्यक्तिको खोजी तथा अनुसन्धान जारी रहेको छ।

प्रहरीका अनुसार उक्त समूहले विभिन्न फोन नम्बरबाट सम्पर्क गरी आर्थिक प्रलोभन देखाउने, अमेरिकी डलर रहेको भन्दै विश्वास दिलाउने र योजनाबद्ध रूपमा रकम असुल्ने गरेको थियो। संगठित रूपमा अपराध गरेको देखिएकाले उनीहरूविरुद्ध ‘ठगी तथा सङ्गठित अपराध’ सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको छ।

अनुसन्धानका क्रममा समूहले विभिन्न मितिमा ठूलो रकम ठगी गरेको खुलेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: १० श्रावण २०८३, आइतबार