नेपाल–भारत धार्मिक तथा सांस्कृतिक सम्बन्ध थप बलियो बनाउनुपर्नेमा भारतीय सर्वोच्च अदालतका न्यायाधीशको जोड



काठमाडौँ, १० साउन । भारतको सर्वोच्च अदालतका न्यायाधीश चन्द्र शेखरले नेपाल र भारतबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई अझ प्रगाढ बनाउन आवश्यक रहेको बताउनुभएको छ।

पशुपतिनाथ मन्दिरको दर्शनपछि उहाँले नेपाल र भारतबीच प्राचीनकालदेखि कायम रहेको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई द्विपक्षीय हित र साझेदारीमार्फत थप सुदृढ गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।

न्यायाधीश चन्द्र शेखरले प्रसिद्ध तीर्थस्थल पशुपतिनाथको दर्शन गर्न पाउँदा खुसी लागेको बताउँदै दर्शन व्यवस्थापन सहज रहेको प्रतिक्रिया दिनुभयो।

उहाँ पशुपति क्षेत्र विकास कोषका पूर्वसदस्यसचिव डा. मिलनकुमार थापाको निमन्त्रणामा काठमाडौँ आउनुभएको हो। पशुपति आगमनका क्रममा उहाँलाई पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्का सदस्य रूपा शाही बास्तोला, रामशोभित नायक तथा महन्थ स्वामी गोकुलानन्दलगायतले स्वागत गर्नुभएको थियो।

यस अवसरमा डा. थापाले नेपाल र भारतबीचको ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउन धार्मिक पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यले भारतमा ‘पशुपति दर्शन अभियान’ सञ्चालन गरिएको जानकारी दिनुभयो।

उहाँका अनुसार उक्त अभियानअन्तर्गत भारतका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरू, जस्तै कलाकार, राजनीतिज्ञ, खेलाडी तथा न्यायिक क्षेत्रका अगुवाहरू पशुपतिनाथ दर्शनका लागि काठमाडौँ आउने क्रम जारी रहेको छ। डा. थापाले धार्मिक पर्यटनको विस्तारले दुई देशबीचको जनस्तरीय सम्बन्धलाई बलियो बनाउनुका साथै आर्थिक विकासमा समेत सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।

प्रकाशित मिति: १० श्रावण २०८३, आइतबार