बागमती र गण्डकीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
काठमाडौँ, १० साउन । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आइतबार राति बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ।
महाशाखाका अनुसार आज दिउँसो सबैभन्दा बढी वर्षा सुनसरीको चतरामा मापन भएको छ। चतरामा २७ दशमलव ८ मिलिमिटर वर्षा रेकर्ड गरिएको महाशाखाले जनाएको छ।
हाल कोशी र बागमती प्रदेशका केही स्थान तथा गण्डकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाले सोमबार र मङ्गलबार देशका हिमाली तथा पहाडी भूभागमा सामान्यदेखि पूर्ण बदली रहने जनाएको छ।
सोमबार कर्णाली प्रदेशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा कोशी र मधेस प्रदेशका तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको बताइएको छ।
त्यस्तै मङ्गलबार देशका पहाडी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।
महाशाखाले वर्षासँगै हुन सक्ने बाढी, पहिरो तथा डुबानको जोखिमलाई ध्यानमा राख्दै आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
प्रकाशित मिति: १० श्रावण २०८३, आइतबार







