सीमा सहजीकरण तथा अवैध गतिविधि नियन्त्रणका लागि ‘सीमा संवाद समूह’ परिचालन



काठमाडौँ । सीमा सहजीकरण, अवैध क्रियाकलाप नियन्त्रण तथा सूचना सङ्कलनका लागि सशस्त्र प्रहरी बल नेपालले ‘बोर्डर इन्टरयाक्सन टिम (सीमा संवाद समूह)’ परिचालन गरेको छ।

झापाको काँकडभिट्टा, मोरङको रानी, पर्साको वीरगञ्ज, रुपन्देहीको डण्डा, बाँकेको जमुनाह, कञ्चनपुरको गड्डाचौकी र कैलालीको गौरीफन्टामा आजदेखि उक्त टोली परिचालन गरिएको सशस्त्र प्रहरी बलले जनाएको छ। प्रत्येक नाकामा सशस्त्र प्रहरी नायब निरीक्षकको कमाण्डमा १४ सदस्यीय टोली खटाइएको छ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले सीमा संवाद समूह सम्बन्धित सीमासुरक्षा गुल्ममा तैनाथ रहने र मुख्य सीमा नाकामा परिचालन हुने बताए।

यसैबीच सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले रुपन्देहीको डण्डास्थित सीमासुरक्षा गुल्मबाट टोली परिचालनको शुभारम्भ गरे। सो क्रममा उनले सीमा क्षेत्रमा हुने दैनिक गतिविधिबारे जानकारी लिनुका साथै सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन आवश्यक निर्देशन दिए।

सशस्त्र प्रहरीले उक्त टोलीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकको आवतजावतमा सहजीकरण गर्ने, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण र उद्धारमा सहयोग गर्ने जनाएको छ। साथै प्रतिबन्धित लागुऔषध, वन्यजन्तु तथा अन्य अवैध सामग्रीको ओसारपसार नियन्त्रण र निगरानीमा कडाइका साथ काम गर्ने बताइएको छ।

सीमा क्षेत्रमा परिचालित अन्य सुरक्षा निकाय तथा सरोकारवाला संस्थासँग समन्वय गरी आपराधिक गतिविधि रोकथाम, नियन्त्रण तथा अन्य सञ्चालनात्मक कार्यमा समेत सहयोग पुग्ने विश्वास सशस्त्र प्रहरीले गरेको छ।

आजै अन्य सीमा नाकामा पनि सम्बन्धित बाहिनीका बाहिनीपतिले टोली परिचालनको शुभारम्भ गरेका छन्। मुख्य सीमा नाकामा खटिने टोली प्रत्येक सिफ्टमा एक जना महिला सशस्त्र प्रहरीसहित बिहान ६ बजेदेखि बेलुका ८ बजेसम्म सादा पोसाकमा परिचालित रहने जनाइएको छ।

प्रकाशित मिति: १० श्रावण २०८३, आइतबार