सात बाल कथा सङ्ग्रह एकैसाथ सार्वजनिक
काठमाडौँ । बाल साहित्यको प्रवर्द्धन र बालपाठकमा पठन संस्कृतिको विकास गर्ने उद्देश्यसहित सातवटा बाल कथा सङ्ग्रह एकैसाथ सार्वजनिक गरिएको छ।
हामी दाजुभाइ, ब्रिटिस काउन्सिल र बाल वाङ्मय तथा अनुसन्धान केन्द्रको संयुक्त आयोजनामा आज काठमाडौँमा सम्पन्न कार्यक्रममा शिक्षाविद् तथा त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति प्रा. केदारभक्त माथेमालगायतले ती पुस्तकहरूको लोकार्पण गर्नुभएको हो।
सार्वजनिक गरिएका कृतिहरूमा:
- शान्ति सापकोटाको ‘मितिनी’,
- सन्जोग ठकुरीको ‘ममीघर’,
- हंसावती कुर्मीको ‘इन्द्रेणी’,
- सुशीला तामाङको ‘आइतीको बिहे’,
- अस्मिता बादीको ‘हैतमाको हिम्मत’,
- बिना थिङको ‘नामको कथा’,
- सङ्गीता उराँवको ‘सुर्जीको उज्यालो’
समावेश छन्।
कार्यक्रममा बोल्दै प्रा. माथेमाले बालबालिकाको बौद्धिक विकासका लागि लामो र गहन सामग्री भएका पुस्तकहरू पनि पढ्न प्रोत्साहन गर्नुपर्ने बताउनुभयो। पढाइले ज्ञानको दायरा फराकिलो बनाउने भएकाले बालबालिकामा पठन संस्कृतिको विकास आवश्यक रहेको उहाँको भनाइ थियो।
यस अवसरमा बाल साहित्यकार प्रमोद प्रधानले नेपाली बाल साहित्यमा हिमाल, तराई तथा पश्चिम नेपालका जनजीवन र कथावस्तु अपेक्षाकृत कम समेटिएको टिप्पणी गर्नुभयो। उहाँले विविध भूगोल, संस्कृति र समुदायका अनुभवलाई बाल साहित्यमा समावेश गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।
कार्यक्रममा प्रा. डा. तारानिधि भट्टराई, अनन्त वाग्ले, गङ्गा कर्माचार्य पौडेल, अनामिका गौतम, गौरी नेपाली, युक्ता खड्का आचार्य तथा विद्यार्थी सरला आचार्य र प्रिया थापालगायतले बाल साहित्यमा कथा विधाको वर्तमान अवस्था, चुनौती र सम्भावनाबारे विचार व्यक्त गरेका थिए।
बाल साहित्यका माध्यमबाट बालबालिकामा कल्पनाशक्ति, सिर्जनशीलता र पठन रुचि अभिवृद्धि गर्ने उद्देश्यले यस्ता प्रकाशनलाई महत्वपूर्ण प्रयासका रूपमा हेरिएको छ।
प्रकाशित मिति: १० श्रावण २०८३, आइतबार







