डा. गोविन्द केसी र सरकारी टोलीबीच वार्ता जारी
धनगढी १० साउन। चिकित्सा शिक्षा सुधारलगायत विभिन्न माग राख्दै अनसनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच वार्ता जारी रहेको छ।
सेती प्रादेशिक अस्पतालको प्रशासनिक भवनमा मध्यान्ह साढे १२ बजेदेखि सुरु भएको वार्ता साँझसम्म पनि जारी रहेको छ। वार्तामा डा. केसीले अघि सारेका मागका विषयमा केन्द्रित भएर छलफल भइरहेको छ।
तीन दिनदेखि आमरण अनसनमा रहेका डा. केसीको स्वास्थ्य अवस्था कमजोर बनेपछि उहाँलाई सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको छ।
डा. केसीले साउन ७ गते धनगढीस्थित श्रीकृष्ण मन्दिर धर्मशालाबाट अनसन सुरु गरेका थिए। स्वास्थ्यमा समस्या देखिएपछि शनिबार उहाँलाई अस्पताल भर्ना गरिएको थियो।
वार्तामा सरकारका तर्फबाट सांसद पुकार बम, प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार जेपी अग्रवाल, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. विकास देवकोटा र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चूडामणि पौडेल सहभागी छन्।
त्यस्तै डा. केसीका तर्फबाट डा. अमृत जैशी र पवन थापा वार्तामा सहभागी रहेका छन्।
दुवै पक्षबीच माग सम्बोधनका विषयमा सहमति खोज्ने प्रयास भइरहेको जनाइएको छ।
प्रकाशित मिति: १० श्रावण २०८३, आइतबार







