प्रहरीको पेस्तोल लुटेर लागुऔषध कारोबारी फरार
मकवानपुर । मकवानपुरमा लागुऔषध कारोबारीले प्रहरीलाई कुटपिट गर्दै पेस्तोल लुटेर फरार भएका छन् ।
जिल्लाको कैलास गाउँपालिका–६ स्थित दुम्सीखर्कस्थित जंगलमा ईलाका प्रहरी कार्यालय पालुङबाट खटिएका हवल्दार अर्जुन तामाङको पेस्तोल लुटेर आरोपीहरु फरार भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर स्रोतका अनुसार गएराति देखिनै जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक श्यामु अर्यालको नेतृत्वमा प्रहरी परिचालन भएपनि हतियार अझै फेला परेको छैन ।
लागुऔषध कारोबार भइरहेको सूचना पाएपछि हवल्दार तामाङ र सहायक हवल्दार गोविन्द्र मग्रातीसहितको टोली त्यस जंगलमा पुगेको थियो । तर प्रहरीको टोलीलाई देखेपछि २ केजी अफिम र मोटरसाइकल छाडेर उनीहरु भागेको बुझिएको छ ।
बरामद गरिएको अफिम र मोटरसाइकल लिएर ईलाका प्रहरी कार्यालय तर्फ आउँदै गर्दा ठुलो समूहले प्रहरीलाई घेरा हालेको थियो ।
सोही बेला प्रहरीलाई कुटपिट गरेर पेस्तोल लुटेर उनीहरु भागेको प्रहरीले जनाएको छ । लागुऔषध कारोबारीको खोजीमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।
प्रकाशित मिति: १८ चैत्र २०८१, मंगलबार
















