प्राधिकरणमा आफूअनुकूल टिम बनाउँदै हितेन्द्र, उच्च व्यवस्थापनको सेट नै परिवर्तन
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले आफूअनुकूल टिम बनाउन कर्मचारीहरूको जिम्मेवार हेरफेर सुरु गरेका छन् । गत चैत ११ गते शाक्यलाई सरकारले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेसँगै प्राधिकरणमा आफ्नै टिम बनाउने कसरतअन्तर्गत उपकार्यकारी निर्देशक र निर्देशकहरूको सरुवा सुरु गरेका हुन् ।
कार्यकारी निर्देशक शाक्य प्राधिकरणमा आएसँगै निर्देशक चन्दन घोषलाई प्रवक्ताको जिम्मेवारीबाट हटाएका थिए । घोषको ठाउँमा राजाभाइ शिल्पकारलाई ल्याएका थिए । त्योसँगै आइतबार प्राधिकरणका १२ र ११ औँ तहका उपकार्यकारी निर्देशक र निर्देशकहरूको शाक्यले सरुवा गरेका हुन् ।
प्राधिकरणले बागमती प्रादेशिक कार्यालयका निर्देशक (प्राविधिक) नवराज ओझालाई व्यवसाय विकास निर्देशनालयअन्तर्गत ऊर्जा दक्षता तथा चुहावट नियन्त्रण विभागमा सरुवा गरिएको छ । ओझा वितरण तथा ग्राहक सेवाका निमित्त उपकार्यकारी निर्देशक थिए ।
त्यस्तै चार महिनासम्म खाली रहेको वितरण तथा ग्राहक सेवामा १२ औँ तहका प्रसारण निर्देशनालयका दीर्घायुकुमार श्रेष्ठलाई सरुवा गरिएको छ । वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाल सेवानिवृत्त भएदेखि उक्त पद रिक्त रहेको थियो ।
प्रकाशित मिति: १८ चैत्र २०८१, मंगलबार
















