बोहराको शव भैरहवा लगिदै, भोली पशुपतिमा अन्त्येष्‍टि



काठमाडौं । पोस्ट कोभिडका कारण निधन भएका प्रतिनिधिसभा सदस्य दीपक बोहराको शव भैरहवा लगिने भएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट रूपन्देही क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद बोहराको आज बिहान काठमाडौंको चाबहिलस्थित ओम अस्पतालमा निधन भएको हो ।

राप्रपाका नेता तथा कार्यकर्ताहरू दिवङ्गत सांसद बोहराप्रति श्रद्धाञ्जलीका लागि ओम अस्पतालमा पुगेका छन् ।

बोहराको पार्थिव शरीर ओम अस्पतालबाट नेपाली सेनाको प्लेनबाट रूपन्देहीको भैरहवास्थित पार्टी कार्यलयमा लैजाने तयारी भइरहेको छ । उनको शव आज दिनभर पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखेर साँझ काठमाडौं ल्याइने राप्रपा पार्टी कार्यालयले जनाएको छ ।

कठायतका अनुसार शव काठमाडौं ल्याएपछि घर या अस्पतालमै राखेर आफ्न्तलाई भेट्न दिइने छ ।

यस्तै, बोहराको शव बुधबार अपराह्न ४ बजेपछि श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा राखिने छ । उनको भोलि नै पशुपति आर्यघाटमा अन्त्येष्‍टि गरिने छ ।

बोहराका दुई श्रीमती, दुई छोरा छन् । बोहरा पछिल्ला केही वर्षयता घाँटीको समस्या भएपछि बोल्न नसक्ने अवस्थामा थिए । उनले गत निर्वाचनमा समेत एक पटक पनि चुनावी सभालाई सम्बोधन गरेका थिएनन् ।

रूपन्देही क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद बोहराले तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई हराएका थिए । बोहरा नेपालको राजनीतिमा चार दशकदेखि राप्रपामा क्रियाशील रहँदै आएका थिए । २०३६ सालमा रूपन्देहीबाट राष्ट्रिय पञ्चायत सदस्यमा निर्वाचित उनी २०४२ सालको राष्ट्रिय पञ्चायत सदस्यमा समेत विजयी भएका थिए ।

पोस्ट कोभिड समस्याले गर्दा उनी अहिले बोल्न नसक्ने अवस्थामा थिए । उनी कोरोना महामारीको दोस्रो लहर (जेठ २०७७) मा संक्रमित भएका थिए ।

संक्रमणको चार÷पाँच महिनापछि बोहरामा स्वरमा केही परिवर्तन देखिएको थियो । पछि थप उपचारका लागि दिल्ली पुगेका बोहरालाई चिकित्सकहरूले पोष्ट कोभिडका कारणले घाँटीमा समस्या भएको बताएका थिए ।

समस्या थपिएपछि उनी केही समयपछि अमेरिकाको न्यूयोर्क पुगेका थिए । त्यसयता उनी स्पीच थेरापी गर्दै आएका थिए । उनी २०७० सालमा रूपन्देही निर्वाचन क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्यमा समेत निर्वाचित भएका थिए ।

प्रकाशित मिति: १८ चैत्र २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्