नयाँ वर्षको पूर्वसन्ध्यामा गायक ढकालको साङ्गीतिक प्रस्तुति
काठमाडौँ, २२ चैत । गायक रामकृष्ण ढकालले नयाँ वर्षलाई लक्षित गर्दै साङ्गीतिक प्रस्तुति दिनुहुने भएको छ ।
नयाँ वर्षको पूर्वसन्ध्यामा आफ्नो साङ्गीतिक समूहसँग भक्तपुरको गठ्ठाघरस्थित जर्मन होम्समा ‘न्यू इयर इभ एट जर्मन होम्स विथ रामकृष्ण ढकाल’ आयोजना हुने भएको हो ।
“विगत केही वर्षदेखि नयाँ वर्षमा प्रस्तुति दिन पाएको थिइनँ, त्यसकारण यसपटक उपत्यका लक्षित गर्दै कार्यक्रमको आयोजना गरेको हुँ, यसपटक ब्याण्डसँग सहकार्य हुने भएकाले दर्शकले नयाँपन आभाष गर्न पाउनु हुनेछ, मेरा सबै किसिमका गीतहरू प्रस्तुत गर्नेछु”, गायक ढकालले भन्नुभयो ।
कार्यक्रम चैत ३१ गते साँझ ६ बजेदेखि सुरु भई राति १२ बजेसम्म सञ्चालन हुने जनाउँदै उहाँले कार्यक्रममा हास्य व्यङ्ग्यात्मक प्रस्तुति र नृत्य पनि रहने बताउनुचयो ।
आगामी साङ्गीतिकसँगै चलचित्र निर्माण गर्ने योजना रहेकाले नयाँ वर्ष विशेष हुने उहाँको भनाइ छ । “आउँदो वर्ष म चलचित्र निर्माताका रूपमा प्रस्तुत हुँदैछु, त्यसकारण सङ्गीतसँगै चलचित्रका गतिविधिमा पनि म सक्रिय रहनेछु, चलचित्रमा एउटा ग्रामीण भेगको कथालाई प्रस्तुत गर्न खोजिएको छ” उहाँले भन्नुभयो । मोडल रीमा विश्वकर्माले उद्घोषण गर्ने उक्त कार्यक्रममा दुई हजार दर्शक सहभागी हुने अपेक्षा रहेको आयोजकले जनाएको छ ।
प्रकाशित मिति: २१ चैत्र २०८१, शुक्रबार
















