नागरिकता सिफारिस नगरिदिएको झोकमा पर्सा वडा कार्यालयमा तोडफोड
काठमाडौं । पर्साको सखुवा प्रसौनी गाउँपालिका–४ को वडा कार्यालयमा तोडफोड भएको छ ।
गएराति ५, ६ जनाको समूहले वडा कार्यालयभित्र प्रवेश गरी कुर्सी, टेबल, पंखा, दराज लगायतका सामग्री तोडफोड गरेको गाउँपालिका अध्यक्ष जसवन्त यादवले जानकारी दिएका छन् ।
अध्यक्ष यादवले भने,‘कार्यालयको ताला फोडेर अफिसियल काजगात चोरी गरेर लगेको देखिन्छ । कार्यलायभित्र रहेका दराज, टेबल, पंखा, कुर्सी लगायत सामग्री तोडफोड भएको छ ।’
एक जना भारतीय नागरिकलाई नागरिकता सिफारिस नगरिदिएको झोकमा ती समूहले वडा कार्यालयमा तोडफोड गरेको हुन सक्ने आशंका रहेको अध्यक्ष यादवले बताएका छन् ।
सखुवा प्रसौनी गाउँपालिका–४ का वडाध्यक्ष आरिफ अन्सारीले भने,‘ ६ महिनादेखि एक जना भारतीय नागरिकलाई नागरिकताको सिफारिस दिन दबाब आइरहेको थियो । सिफारिसका लागि ममाथि विभिन्न धाकधम्की आइरहेको थियो । तिनै समूहले राति तोडफोड गरेका हुन् । उनीहरूविरुद्ध मुद्दा दर्ता गर्न जिल्ला प्रहरी कार्यालय पर्सा पुगेको छु।’
वडा कार्यालय तोडफोडबारे जानकारी पाउनेबित्तिकै प्रहरी टोली घटनास्थल पुगेर आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: २६ चैत्र २०८१, बुधबार
















