नगर प्रहरी प्रमुख पाण्डेलाई कारबाही गर्न महानगरका कर्मचारी संगठनको माग



काठमाडौं । काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेलाई कारबाही गर्न माग गर्दै महानगरका कर्मचारीहरुले ज्ञापनपत्र बुझाएका छन्।

नगर प्रहरी प्रमुख पाण्डेलाई कारबाहीको माग गर्दै महानगरका ५ कर्मचारी संगठनले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई ज्ञापनपत्र बुझाएका हुन् ।

स्थानीय तह कर्मचारी युनियन, नेपाल, स्थानीय तह कर्मचारी संघ नेपाल, महानगर कर्मचारी परिषद्, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन र नेपाल वातावरण तथा सरसफाइ श्रमिक संघले संयुक्तरुपमा ज्ञापन पत्र बुझाएको हो ।

चैत २१ गते महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले मेयर बालेन शाहले कार्यकारीलाई कार्यालयमा छिर्न नदिनू भन्दै आदेश दिएको भनेर गुरागाईंलाई प्रवेश गर्न नदिन नगर प्रहरी परिचालन गरेका थिए।

त्यसैले पाण्डेलाई महानगर प्रहरी ऐन अनुसार तत्काल निलम्बनमा गरी छानबिन गर्न माग उनीहरूले गरेका छन्।

पेसागत सङ्गठनहरूले चैत २१ गते महानगर प्रहरी बलका प्रमुख राजु पाण्डेको अगुवाइमा कार्यालयको मर्यादा विपरीतका अनुशासनहीन गैरकानुनी, अमर्यादित एवं अनपेक्षित घटना भएको भन्दै त्यसको सत्यतथ्य पत्ता लगाई दोषीलाई हदैसम्मको कारबाही गर्न माग गरेका छन् ।

यसका लागि तीन दिनभित्र अधिकार सम्पन्न छानविन समिति गठन गरी जिम्मेवारी दिनुपर्ने उनीहरूको माग छ ।

प्रकाशित मिति: २७ चैत्र २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्