यू–१९ विश्वकप छनोट : नेपाल आज हङकङसँग भिड्दै
काठमाडौं, वैशाख ३ । यू–१९ विश्वकप छनोट प्रतियोगितामा नेपालले तेस्रो खेलमा आज हङकङसँग भिँड्दैछ ।
नेपाल र हङकङबीचको खेल आज बिहान साढे ९ बजेदेखि काठमाडौंस्थित मूलपानी क्रिकेट मैदानमा सुरु हुनेछ ।
जारी प्रतियोगितामा अपराजित रहेको नेपालले पहिलो म्याचमा यूएईलाई ५ रन तथा दोस्रो खेलमा ओमानलाई ८ विकेटले हरायो । नेपाल अब हङकङलाई हराउँदै जितमा ह्याट्रिक गर्न चाहन्छ ।
उता हङकङ भने पहिलो जितको खोजीमा छ । उसले पहिलो खेलमा अफगानिस्तानसँग ८ विकेटको हार बेहोरेको थियो ।
पहिलो खेलमा अफगानिस्तानसँग ३६.२ ओभरमा ७० रनमै अलआउट भयो । हङकङ नेपालविरुद्ध सुधारिएको प्रदर्शन गर्न चाहन्छ । यता उपाधि दाबेदार नेपाल हङकङविरुद्ध फराकिलो जित निकाल्ने योजनामा छ ।
यूएईविरुद्ध डकवर्थ लुइस पद्धतिअनुसार रोमाञ्चक जित निकालेको नेपालले ४० ओभरमा झारिएको उक्त म्याचमा ९ विकेट गुमाएर २ सय रन बनाएको थियो, जहाँ कप्तान नरेन भट्टले ७५ बलमा ६७ रनको पारी खेले । बलिङमा अलराउन्डर सन्तोष यादवले ८ ओभरमा २३ रन दिएर सर्वाधिक दुई विकेट लिए ।
दोस्रो खेलमा ओमानविरुद्ध नेपालले बलिङ÷ब्याटिमै सानदार प्रदर्शन ग¥यो । त्यस खेलमा ओमानलाई नेपालले ३८ ओभरमा १ सय १७ रनमै समेट्यो । ओमानलाई सस्तैमा अलआउट गर्न नेपाली स्पिनर युवराज खत्रीले घातक बलिङ गरे ।
उनले ७ ओभरमा १५ रन मात्र दिएर सर्वाधिक ५ विकेट लिए । ओमानले दिएको ११८ रनको झिनो लक्ष्य नेपालले १४.३ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो ।
नेपालको जितमा ओपनर निरजकुमार यादवले ३१ बलमा सर्वाधिक ४६ रन जोडे । नेपाल तेस्रो खेलमा पनि सानदार अलराउन्ड प्रदर्शन गरेर अपराजय यात्रा जारी राख्ने सोचमा छ । हङकङसँग नेपाल यू–१९ ले साढे २ महिनाको अन्तरालमा खेल्न लागेको हो ।
गत डिसेम्बरमा मूलपानी मैदानमा भएको हङकङसँगको तीनको खेलको सिरिज नेपालले ३–० ले क्लिन स्विप गरेको थियो । त्यस सिरिजमा नेपालले तीनवटै खेलमा एकतर्फी जित निकालेको थियो ।
विश्वकप छनोटमा नेपाललाई अफगानिस्तानको डर हो । नेपाल र अफगानिस्तानबीचको बहुप्रतिक्षित खेल १९ अप्रिलमा हुनेछ ।
प्रकाशित मिति: ३ बैशाख २०८२, बुधबार
















