अत्तरिया घटना : हत्याका मुख्य अभियुक्त सशस्त्रका भगौडा !



कैलाली । कैलालीको गोदावरी नगरपालिका–१ को अत्तरियामा मृत भेटिएका ३५ वर्षीय जगदीश कैनीको हत्यामा संलग्न मुख्य अभियुक्त पक्राउ परेका छन् ।

डडेल्धुराको अमरगढी नगरपालिका–७ स्थायी घर भएका कैनीको हत्यामा संलग्न भएको आरोपमा सशस्त्र प्रहरीका पूर्व भगौडालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उनलाई इलाका प्रहरी कार्यालय मालाखेतीले अत्तरिया क्षेत्रबाट पक्राउ गरेको हो । सशस्त्र प्रहरीका भगौडा रहेका ती व्यक्ति कैनीसँगै सडकपेटीमा बस्दै आएका थिए ।

कैनीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले माओवादीका पूर्व लडाकु समेत रहेका लामा थरमा पुरुषसहित तीनजना सडक पेटीमा बस्दै आएकाहरुलाई पक्राउ गरेको थियो ।

प्रहरीका अनुसार अहिले पक्राउ परेका व्यक्तिले मृतकले आफ्नो झोला र पैँसा चोरेका कारण हत्या गरेको बयान दिएका छन् ।
अर्का लामा थरका अभियुक्तले भने श्रीमतीलाई जिस्काउने, आपांग भनेर होच्याउने र पैँसा पनि चोर्ने गरेकाले ढुंगा प्रहार गरि हत्या गरेको प्रहरी समक्ष बयान दिएका थिए ।

इलाका प्रहरी कार्यालय मालाखेतीले घटनाबारे विस्तृत जानकारी पत्रकार सम्मेलनमार्फत दिने भएको छ ।

प्रकाशित मिति: ४ बैशाख २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्