विवाहबिना शारीरिक सम्बन्ध राखेको आरोपमा एक जोडी जेलमा !


 


एजेन्सी, फागुन २६

विवाहबिना नै शारीरिक सम्बन्ध राखेको आरोपमा संयुक्त अरब इमिरेट्स युएई मा विदेशी एक जोडीलाई हिरासतमा राखिएको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमका अनुसार युएईमा काम गर्दै आएको सो जोडीलाई गत जनवरीदेखि नै हिरासतमा राखिएको भए पनि हालै यो मामला प्रकाशमा आएको हो ।

२९ वर्षीय दक्षिण अफ्रिकी नागरिक एमलिन कल्वरवेल र २७ वर्षीय युक्रेनी नागरिक इरिना नोहाइलाई विवाहबिना नै शारीरिक सम्बन्ध राखेको आरोपमा पक्राउ गरिएको हो । यी दुबै आपसमा प्रेम सम्बन्धमा रहेको बताइएको छ । युएईमा विवाहपूर्व शारीरिक सम्बन्ध राख्नु अपराध मानिन्छ ।

पेटमा समस्या भएका कारण स्वास्थ्य परीक्षण गराउन गएकी इरिना गर्भवती भएको रहस्य खुलेपछि उनी कानूनी कारवाहीको दायरामा तानिएकी हुन् । विवाहबिना नै गर्भवती भएका कारण उनी छानविनको दायरामा तानिएपछि एमलिन र उनीबीचको सम्बन्ध प्रकाशमा आएको हो ।

दुबैले आफूहरु प्रेमी–प्रेमिका रहेको बताए पनि विवाहपूर्व शारीरिक सम्बन्ध राख्न नपाउने कानूनी प्रावधान तोडेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको युएईका अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । एमलिनकी आमाले दुबैको रिहाई माग गरेकी छिन् ।

उनले भनिन्, ‘उनीहरु दुबैको कसुर भनेको नै प्रेममात्र हो ।’ दक्षिण अफ्रिकी विदेशमन्त्रालयले यसबारे आफूले केही गर्न नसक्ने बताइसकेको छ ।

युएईको कानून उल्लंघन गरेको आरोपमा उनीहरुमाथि युएई मै कारवाही भइरहेको भन्दै विदेशमन्त्रालयले आफ्नो भूमिका प्रभावकारी हुन नसक्ने जनाएको हो । उसले यसबारेमा कानूनी सहायत लिन दुबैलाई सल्लाह दिएको छ ।

एमलिन पाँच वर्षदेखि युएईमा काम गर्दै आएका थिए । उनकी आमा लिन्डाले दुबैलाई विचलित नहुन आग्रहसमेत गरेकी छन् । विवाहबिना नै शारीरिक सम्बन्ध राखेको आरोपमा युएईको कानूनअनुसार दुबैलाई लामो जेल सजाय हुन सक्छ ।

प्रकाशित मिति: २६ फाल्गुन २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्