भोजपुर गोल्डकप वैशाख १४ देखि, ८ टिम सहभागी हुँदै



भोजपुर, वैशाख ७ । भोजपुरको प्रतिष्ठित आठौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर गोल्डकप प्रतियोगितामा भारतको एक टिमसहित नेपालका सात टिमले सहभागिता जनाउने भएका छन् ।

प्रतियोगितामा जर्जियन फुटबल क्लब भारतसहित सशस्त्र प्रहरी बल नेपाल काठमाडौँ, चर्च ब्वाइज युनाइटेड काठमाडौँ, एलएक्स सिटी मोरङ, भगवती स्पोट्र्स क्लब खोटाङ, नवोबुद्ध फुटबल क्लब सप्तरी, सलहेश फुटबल क्लब सिरहा र आयोजक भोजपुर जिल्ला फुटबल संघले सहभागिता जनाउने आयोजकले जनाएको छ ।

जिल्ला फुटबल संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रत्येक वर्ष जिल्ला सदरमुकाममा सञ्चालन हुँदै आएको प्रतियोगिता यस वर्ष भने यही वैशाख १४ देखि २० गतेसम्म सञ्चालन हुनेछ ।

भोजपुर–७ कोदारमा रहेको रंगशालामा सञ्चालन हुने प्रतियोगिताका लागि भोजपुर नगरपालिकाले रु ३० लाख सहयोग गरेको छभने अन्य थप रकम सहप्रायोजकबाट संकलन गरिने आयोजक संस्थाले जनाएको छ ।

प्रतियोगिताका विजेता तथा उपविजेताले उपाधिसहित क्रमशः नगद पाँच लाख रुपैयाँ र तीन लाख रुपैयाँ पाउने छन्। अन्य व्यक्तिगत विधातर्फ पनि सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षकलाई पुरस्कारको व्यवस्था गरिएको आयोजक जिल्ला फुटबल संघका अध्यक्ष प्रवीण सुवालले जानकारी दिए ।

गत वर्ष सञ्चालन भएको सातौँ संस्करणमा चर्च ब्वाइज युनाइटेड, काठमाडौँले त्रिभुवन आर्मी क्लबलाई पेनाल्टी सुटमा ४–२ गोलले पराजित गर्दै विजेता बनेको थियो ।

प्रकाशित मिति: ७ बैशाख २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्